२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नेपाल–ब्राजिल सम्बन्धलाई थप उचाइमा पुर्‍याउने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता

कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठमा दुवै देशका परराष्ट्रमन्त्रीद्वारा बधाई सन्देश आदानप्रदान

सोमवार , आश्विन १९, २०८३

 

सम्पादकीय सारांश

Verified

नेपाल–ब्राजिल कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा।

सहकार्य र साझेदारी थप विस्तार गर्ने प्रतिबद्धता।

बीसीएमको आगामी बैठक काठमाडौंमा हुने।

जलवायु र दिगो विकासमा सहकार्य बढाइने।

नेपाल–ब्राजिल सम्बन्ध थप सुदृढ बनाउने जोड।

काठमाडौं । नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन्। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गरेका हुन्।

ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार दुवै मन्त्रीले नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउनेमा पनि उनीहरूले जोड दिएका छन्।

नेपालको परराष्ट्र मन्त्रालय र ब्राजिलको विदेश मन्त्रालयले द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आगामी बैठकको तयारी गरिरहेका छन्। उक्त बैठक नेपालले काठमाडौंमा आयोजना गर्नेछ। दुवै मन्त्रीले दुई देशका राजधानीमा रहेका कूटनीतिक नियोगहरूले साझा एजेन्डा अघि बढाउन खेलेको भूमिकाको प्रशंसासमेत गरेका छन्।

आफ्नो सन्देशमा परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जलवायु परिवर्तनको क्षेत्रमा उसले देखाएको नेतृत्वको सराहना गरेका छन्। ग्लोबल साउथको आवाजलाई बलियो बनाउन ब्राजिलले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरेका छन्।

खनालले नेपाल र ब्राजिलबीच द्विपक्षीय तथा बहुपक्षीय दुवै मञ्चमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

‘नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौं,’ खनालले भनेका छन्। ब्राजिलका विदेशमन्त्री माउरो भिएराले पनि नेपाल र ब्राजिलबीच मित्रता, पारस्परिक विश्वास तथा साझा मूल्यमा आधारित बलियो साझेदारी रहेको बताएका छन्। उनले दुई देशबीच द्विपक्षीय सहकार्य सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गरेका छन्।

भिएराले नेपालको दुग्ध क्षेत्रमा ब्राजिलको सहयोगमा सञ्चालन भइरहेको विकास परियोजनालाई दुई देशबीचको सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन्। ब्राजिलको सहयोग एजेन्सीको समर्थनमा उक्त परियोजना सञ्चालन भइरहेको छ।उनले नेपाल र ब्राजिल ग्लोबल साउथका सक्रिय आवाज भएको उल्लेख गर्दै बहुपक्षीयता, न्यायपूर्ण तथा शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था र जलवायु कार्यका लागि दुवै देश प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल र ब्राजिलबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपालले सन् २०१० मा ब्राजिलको राजधानी ब्रासिलियामा आवासीय दूतावास स्थापना गरेको थियो। ल्याटिन अमेरिकामा ब्रासिलियास्थित नेपाली दूतावास नेपालको एक मात्र कूटनीतिक नियोग हो। त्यसको एक वर्षपछि ब्राजिलले काठमाडौंमा आफ्नो आवासीय दूतावास स्थापना गरेको थियो। काठमाडौंस्थित ब्राजिलको दूतावास पनि नेपालमा रहेको एक मात्र ल्याटिन अमेरिकी कूटनीतिक नियोग हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images