२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नारायणी नदीमा पानीको सतह सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह शनिबार साँझ सतर्कता तहभन्दा माथि पुगेको छ। थप वर्षा भए खतरा तह पार गर्न सक्ने चेतावनी दिइएको छ।

शनिवार , आश्विन १०, २०८३

नेपालसेज/चितवन ।
लगातारको वर्षापछि चितवनस्थित नारायणी नदीको पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। बिहीबारदेखि भइरहेको वर्षाका कारण शनिबार साँझ नदीको जलसतह बढेर ८.९३ मिटर पुगेको हो। नारायणी बेसिन कार्यालय चितवनको रेकर्डअनुसार शनिबार साँझ ५ बजे नदीको पानीको सतह ८.९३ मिटर मापन गरिएको छ। नारायणी नदीमा ७.३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ। नदीको बहाव निरन्तर बढिरहेका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। थप वर्षा भए नदीको पानी खतरा तह पार गर्न सक्ने सम्भावना रहेको सुरक्षा निकायले जनाएको छ।

सम्पादकीय सारांश

Verified

शनिबार साँझ नारायणी नदीको पानीको सतह ८.९३ मिटर पुगेको छ।

नारायणीमा ७.३० मिटरलाई सतर्कता र ९ मिटरलाई खतरा तह मानिन्छ।

थप वर्षा भए नदीको पानी खतरा तह पार गर्न सक्ने सम्भावना छ।

हालसम्म चितवनका नदी किनारका बस्तीमा पानी पसिसकेको छैन।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्।

नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार नदीको बहाव निरन्तर बढिरहेको छ। जलसतह सतर्कता तह पार गरेपछि नदी आसपासका क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सचेत गराउने तथा सूचना प्रवाह गर्ने काम भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले थप वर्षा भए नारायणी नदीको पानी खतरा तह पार गर्न सक्ने सम्भावना रहेको बताएका छन्। उनका अनुसार हालसम्म चितवनमा नदी किनारका बस्तीमा नदीको पानी पसिसकेको छैन।

तर वर्षा थपिएमा नारायणीमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। नदीको जलसतह खतरा तह नजिक पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था निगरानी गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिएको एसपी पौडेलले जानकारी दिएका छन्। आवश्यक परे प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ।

हाल तटीय क्षेत्रमा सूचना प्रवाह गर्ने, स्थानीयलाई सचेत गराउने तथा सम्भावित उद्धारका लागि आवश्यक तयारीका काम भइरहेको छ। वर्षा र नदीको बहावको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images