"मेरो नाम नाजिर हुसेन हो, तर म नेपाली हुँ" — दोस्रो पटक रोकिएको भन्दै कलाकार नाजिर हुसेनको प्रश्न
भारतबाट नेपाल फर्किने क्रममा दिल्ली विमानस्थलमा दोस्रो पटक पनि विशेष सुरक्षा जाँचमा परेको दाबी गर्दै कलाकार नाजिर हुसेनले आफूलाई किन बारम्बार रोकिएको हो भन्ने स्पष्ट कारण माग गरेका छन्।
नेपाल फर्किने क्रममा आफूलाई छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको भनाइ।
सुरक्षाकर्मीले "नेपाल क्युँ जा रहे हो?" लगायतका प्रश्न सोधेको उल्लेख।
आफूसँगै रहेका अन्य नेपाली टोलीका सदस्यलाई अतिरिक्त जाँच नगरिएको दाबी।
"कोई बात नहीं" भन्ने जवाफले आफू सन्तुष्ट नभएको प्रतिक्रिया।
"मेरो नाम मोहम्मद नाजिर हुसेन हो, तर म नेपाली हुँ" भन्ने सन्देशसहित स्पष्ट कारण माग।
घटनाबारे हालसम्म भारतीय पक्षको आधिकारिक प्रतिक्रिया आएको छैन।
नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेन पछिल्लो समय आफू अभिनीत चलचित्र **'गुन्यु चोलो'**को अन्तर्राष्ट्रिय प्रदर्शनका क्रममा भारत पुगेका थिए। भारतस्थित नेपाली राजदूतावास, नयाँदिल्लीले आयोजना गरेको विशेष कार्यक्रममा चलचित्रको विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रममा निर्देशक समुन्द्र भट्ट, निर्माता जनकदीप पराजुली, कूटनीतिक अधिकारी, भारतीय चलचित्रकर्मी तथा भारतमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रम सम्पन्न भएपछि टोली नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्किँदै थियो। यही क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला आफूलाई मात्र छुट्टै सुरक्षा कक्षमा लगेर सोधपुछ गरिएको अनुभव नाजिरले सार्वजनिक गरेका हुन्। उनका अनुसार यो पहिलो पटक नभई दोस्रो पटक भएको घटना हो।
यसअघि पनि यस्तै अनुभव भए पनि सामान्य सुरक्षा प्रक्रियाको हिस्सा ठानेर मौन बसेको उनले उल्लेख गरेका छन्। तर एउटै अनुभव पुनः दोहोरिएपछि त्यसको कारण सार्वजनिक रूपमा जान्नुपर्ने आवश्यकता महसुस गर्दै उनले फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका हुन्। उनले आफ्नो पोस्टमा नेपाल सरकार, भारतस्थित नेपाली राजदूतावास, नेपालस्थित भारतीय दूतावास तथा नेपाल चलचित्र विकास बोर्डलाई समेत ट्याग गर्दै घटनाबारे स्पष्ट जानकारी गराइदिन आग्रह गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्,
"दिल्ली एयरपोर्टबाट नेपाल फर्किँदै गर्दा नेपाल एयर लाइन्सको जहाजको टिभीमा गुगल म्यापले लुम्बिनी देखाउँदा मैले सुरक्षित महसुस गरेको यो दोस्रो पटक हो।"
उनका अनुसार, आफू निर्देशक समुन्द्र भट्ट र निर्माता जनकदीप पराजुलीसँगै नेपाल फर्किरहेका थिए। तर उनीहरूलाई कुनै अतिरिक्त सोधपुछ नगरी अघि बढ्न दिइयो भने आफूलाई मात्रै विशेष सुरक्षा कक्षमा लगेर सोधपुछ गरिएको थियो।
"भारतीय एयरपोर्टको सेक्युरिटीले उहाँहरूलाई केही पनि सोधपुछ गरेन। तर मलाई विशेष कक्षमा लगेर यसअघिझैँ प्रश्न सोध्यो।"
नाजिरले सार्वजनिक गरेको विवरणअनुसार सुरक्षाकर्मीसँग भएको संवाद यस्तो थियो–
सेक्युरिटी : "नेपाल क्युँ जा रहे हो?" म : "I'm going back home."
सेक्युरिटी : "कितना पैसा है आपके पास?" म : "I have no Indian currency with me."
त्यसपछि आफू भारत किन गएको, कुन कार्यक्रममा सहभागी भएको र नेपाल फर्किन लागेकोबारे सबै जानकारी दिएको उनले उल्लेख गरेका छन्।
तर त्यसपछि आफूलाई किन विशेष सुरक्षा जाँचमा राखिएको हो भन्ने प्रश्न गर्दा स्पष्ट जवाफ नपाएको उनको भनाइ छ।
"मैले सोधेँ— मलाई किन विशेष सेक्युरिटीमा ल्याइयो र यो सबै प्रश्न सोधियो? जवाफ आयो— 'कोई बात नहीं।'"
यसप्रति असन्तुष्टि जनाउँदै उनले लेखेका छन्,
"यो मेरो प्रश्नको जवाफ होइन। यदि 'कोई बात नहीं' हो भने किन?"
आफ्नो नामकै कारण बारम्बार यस्तो व्यवहार भइरहेको हो कि भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
"मेरो पूरा नाम मोहम्मद नाजिर हुसेन। यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो। यदि होइन भने मैले कारण थाहा पाउनुपर्छ।"
उनले पासपोर्ट स्क्यान गर्दा यात्रुबारे आवश्यक सबै विवरण सुरक्षा निकायको प्रणालीमा उपलब्ध हुने भएकाले आफूलाई किन बारम्बार विशेष जाँचमा राखिएको हो भन्ने स्पष्ट कारण दिनुपर्ने बताएका छन्।
"पहिलो पटक यसरी सोधपुछ गर्दा ठिकै जस्तो लागेको थियो। तर दोस्रो पटक ठिक लागेको छैन।"
पोस्टको अन्त्यमा उनले अंग्रेजीमा लेखेका छन्—
"Help me, I want to know the reason."
हालसम्म यस विषयमा भारतीय विमानस्थल प्रशासन, भारतीय सुरक्षा निकाय वा अन्य सम्बन्धित निकायबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस