२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

दाना महँगिँदा उत्पादन लागत वृद्धि

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्य उत्पादनको लागत महँगियो

मकै, भटमासको पिना र ढुटोको मूल्य बढेपछि दानाको लागत १५ प्रतिशतसम्म वृद्धि, अण्डा र मासुको उत्पादन खर्च पनि बढ्यो

मंगलवार , कार्तिक २४, २०८३

 

सम्पादकीय सारांश

Verified

भारतीय मकैको मूल्य प्रतिकिलो ३९ रुपैयाँबाट बढेर ५४ रुपैयाँ पुगेको छ।

दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ।

ब्रोइलर र लेयर्स दानाको मूल्य प्रतिकिलो क्रमशः पाँच र चार रुपैयाँ बढाइएको छ।

अण्डाको उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म बढेको छ।

कुखुराको मासु, चल्ला, दूध, माछा र बङ्गुर उत्पादनको लागतसमेत बढेको छ।

नेपालसेज, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य बढेपछि नेपालमा पशुपन्छीको दाना उत्पादन लागत महँगिएको छ। दानाको लागत बढेसँगै कुखुराको अण्डा, मासु तथा अन्य पशुपन्छीजन्य उत्पादनको खर्चसमेत बढ्न थालेको छ। यसको असर अन्ततः उपभोक्तासम्म पुग्ने व्यवसायीहरूले बताएका छन्। नेपाल दाना उद्योग सङ्घका अनुसार पछिल्लो १५ दिनमै मकै र भटमासको पिनाको मूल्य उल्लेख्य रूपमा बढेको छ। दानामा सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको मूल्य बढ्दा उत्पादन लागतमा करिब १५ प्रतिशत वृद्धि भएको छ। कच्चा पदार्थको मूल्य र आयातमा लाग्ने समयसमेत बढेकाले दाना उत्पादक तथा पशुपन्छीपालक किसान थप दबाबमा परेका छन्।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आयात हुने मकै प्रतिकिलो ३९ रुपैयाँ र नेपाली मकै ३६ रुपैयाँमा खरिद हुने गरेको थियो। अहिले भारतीय मकैको मूल्य प्रतिकिलो ५४ रुपैयाँ र नेपाली मकैको मूल्य ५० रुपैयाँभन्दा माथि पुगेको छ। यस्तै, अमेरिका र बङ्गलादेशबाट आयात हुने भटमासको पिनाको मूल्य प्रतिकिलो ८७–८८ रुपैयाँबाट बढेर ९५–९६ रुपैयाँ पुगेको छ।

नेपालमा मकै र भटमासको पिना मुख्यतः कुखुराको दाना उत्पादनमा प्रयोग हुन्छ। दानामा मकैको हिस्सा ५० देखि ६० प्रतिशतसम्म र भटमासको पिनाको हिस्सा करिब २५ प्रतिशत हुन्छ। यसबाहेक तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिन पनि प्रयोग गरिन्छ। ढुटोको मूल्यसमेत प्रतिकिलो ३५ रुपैयाँबाट बढेर ४७ रुपैयाँ पुगेको छ।

सापकोटाका अनुसार कच्चा पदार्थको मूल्य बढेसँगै दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ। विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा नेपाल आइपुग्ने गरेकामा अहिले ९० दिनसम्म लाग्न थालेको छ। आयातमा ढिलाइ हुँदा थप खर्च बढेको उनले बताएका छन्।

नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुने गरेको छ। यसको सम्पूर्ण परिमाण तेस्रो मुलुकबाट आयात हुन्छ। यस्तै, वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म मकै खपत हुने गरेको छ। त्यसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आयात हुने र बाँकी नेपाली उत्पादनले धान्ने गरेको छ।

भारतमा मकैको मूल्य बढेपछि कुखुराको दानामा प्रयोग नहुने कम गुणस्तरको मकैसमेत इथानोल उत्पादनका लागि भारत जान थालेको सापकोटाले जानकारी दिएका छन्।

कच्चा पदार्थको मूल्य बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो पाँच रुपैयाँ र लेयर्स कुखुराको दानाको मूल्य चार रुपैयाँ बढाएका छन्। हाल दानाको मूल्य प्रतिकिलो ५५ देखि ७५ रुपैयाँसम्म पुगेको छ। सापकोटाका अनुसार तत्कालका लागि राहतस्वरूप मूल्य बढाइए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले दानाको मूल्य अझै बढ्न सक्नेछ।

अण्डा र मासुको उत्पादन लागत पनि बढ्यो

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दानाको मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म बढेको छ। यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम गरिएको थियो। दानाको लागत प्रतिकिलो करिब १० रुपैयाँले बढ्ने भएपछि अण्डा उत्पादनको खर्चसमेत बढेको उनले बताएका छन्।

लागत मूल्यसमेत नपाएर धेरै किसान व्यवसायबाट विस्थापित भइरहेको अवस्थामा दानाको मूल्य बढ्दा अण्डा उत्पादक किसान थप सङ्कटमा पर्ने पोखरेलको भनाइ छ। उनले किसानलाई छिट्टै लागतअनुसारको मूल्य पाउने वातावरण बनाउन नसके बाँकी रहेका अण्डा उत्पादक किसानसमेत विस्थापित हुन सक्ने बताएका छन्।

उनका अनुसार नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन्। पुराना किसानले लगानी थप्नु र नयाँ किसानसमेत व्यवसायमा प्रवेश गर्नुका कारण उत्पादन बढेकाले बजारको माग धान्न सम्भव भएको उनले बताएका छन्।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत बढ्दा चल्ला र मासुको उत्पादन खर्चसमेत बढेको बताएका छन्। उनका अनुसार जिउँदो कुखुराको उत्पादन लागत प्रतिकिलो २१० रुपैयाँ हाराहारीबाट बढेर २३० रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै, लेयर्स कुखुराको चल्लाको लागत प्रतिगोटा १२० रुपैयाँबाट बढेर १५० रुपैयाँ र ब्रोइलर चल्लाको लागत ६५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ।

लामिछानेका अनुसार दानाको कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढ्दा गाईभैँसीको दूध, माछा र बङ्गुर उत्पादनको लागतसमेत बढेको छ। पशुपन्छीजन्य उत्पादनको लागत बढ्न थालेपछि त्यसको प्रभाव बजारमा समेत देखिन थालेको किसान तथा व्यवसायीहरूले बताएका छन्।

— नेपालसेज | प्रकाशित: २४ कात्तिक २०८३

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images