२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

धान नफलेपछि किसान चिन्तित

माडीमा बायोसीड ३०१ धानमा समस्या, बीउको गुणस्तरमाथि प्रश्न

करिब एक सय हेक्टरमा लगाइएको धानमा बाला नलाग्ने र दाना नलागी खोक्रो रहने समस्या, कृषि निकायबाट अनुसन्धान सुरु।

सोमवार , कार्तिक १६, २०८३

नेपालसेज/ चितवन।
चितवनको माडीमा नयाँ जातको धान लगाएका किसान उत्पादन नहुँदा चिन्तित बनेका छन्। माडी नगरपालिका–५, ६ र ७ लगायतका क्षेत्रमा लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा बाला नलाग्ने, बाला लागे पनि दाना नलाग्ने र खोक्रा बाला मात्रै रहने समस्या देखिएको हो।
माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो। यस वर्ष नयाँ जातको धान लगाउँदा भने उहाँको खेतमा राम्रोसँग बाला लागेन। धानमा रोग देखिएपछि पटकपटक विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण हुन सकेन। अहिले खेतमा धानका बोट र खोक्रा बाला मात्रै रहेको उहाँले बताउनुभयो।

सम्पादकीय सारांश

Verified

चितवनको माडीमा ‘बायोसीड ३०१’ जातको धानमा उत्पादनसम्बन्धी समस्या देखिएको छ।

धानमा बाला नलाग्ने, दाना नलाग्ने र खोक्रा बाला मात्रै रहने समस्या देखिएको छ।

माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री भएको छ।

करिब एक सय हेक्टर क्षेत्रफलमा उक्त धान खेती गरिएको कृषि शाखाको अनुमान छ।

बीउको गुणस्तर र रोगको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।

त्यस्तै, माडी नगरपालिका–६, कल्याणपुरकी सावित्री चापागाईंले करिब १६ कठ्ठा जमिनमा लगाएको धानबाट दुई–चार बोरामात्रै उत्पादन भएको बताउनुभयो। उहाँका अनुसार उत्पादित धानसमेत खानयोग्य अवस्थामा छैन। धानसँगै परालसमेत उत्पादन नहुँदा लगानी र मेहनत खेर गएको उहाँको भनाइ छ। कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो। रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरिए पनि समस्या समाधान हुन सकेन। धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नलाग्ने समस्या देखिएको हो।

माडी नगरपालिका कृषि शाखा प्रमुख सुरेश सिँखडाका अनुसार स्थलगत अनुगमनका क्रममा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक रूपमा देखिएको थियो। धान पाक्ने समयमा दाना नलाग्ने समस्या देखिएपछि किसानले क्षतिको विवरणसहित समाधानको माग गर्दै नगरपालिकाको कृषि शाखामा गुनासो गरिरहेका छन्। स्थानीय एग्रोभेटबाट प्राप्त विवरणअनुसार माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री वितरण भएको र करिब एक सय हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणमा उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ। तर, असार १५ देखि मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म पनि धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको छ।

समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइसकेको छ। प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत भएको छ। अहिले कृषि शाखाले किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने बीउ कम्पनीका प्रतिनिधिसँग क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताउनुभएको छ। किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त विवरणका आधारमा समस्याको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने उहाँको भनाइ छ। बीउ बिक्री गर्ने एग्रोभेटबाट बीउको स्रोतसम्बन्धी विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। प्रभावित किसानको क्षति र बीउको गुणस्तर परीक्षणपछि मात्रै वास्तविक कारण तथा क्षतिको परिमाण यकिन हुने कृषि कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images