२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

UN-18-महामारी रोकथाममा जोड

‘कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन’

शनिवार , आश्विन १०, २०८३

नेपालसेज / न्युयोर्क ।
परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत आयोजित ‘Pandemic Prevention, Preparedness and Response’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्व समुदायले महामारीलाई संकट आएपछि मात्र सम्बोधन गर्नेभन्दा पहिले नै रोकथाम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। उहाँले COVID-19 महामारीले कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी संकटमा परिणत हुन सक्ने देखाएको उल्लेख गर्नुभयो। ‘कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन,’ उहाँले भन्नुभयो। महामारीले स्वास्थ्य प्रणालीसँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको असमानतालाई समेत उजागर गरेको उहाँको भनाइ थियो।

सम्पादकीय सारांश

Verified

महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम र तयारीमा विश्वव्यापी सहकार्य आवश्यक।

‘कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन’ : खनाल।

महामारी तयारीका लागि दिगो र समान वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड।

WHO लाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको प्रतिनिधित्व बढाउन आग्रह।

संकट आएपछि प्रतिक्रिया दिने शैलीबाट पहिले नै रोकथाम गर्ने संस्कृतितर्फ जानुपर्ने धारणा।

मन्त्री खनालले COVID-19 महामारी स्वास्थ्य संकटमा मात्र सीमित नभई दशकौँमा हासिल भएका विकासका उपलब्धिमाथि समेत गम्भीर असर पारेको बताउनुभयो। महामारीका क्रममा स्वास्थ्य सेवा, खोप र आवश्यक औषधिमा पहुँचमा देखिएको असमानताले विश्वव्यापी स्वास्थ्य सुरक्षाका चुनौतीलाई थप स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो। नेपालले विश्वव्यापी महामारी तयारीलाई सुदृढ बनाउन WHO Pandemic Agreement तथा संशोधित International Health Regulations लाई महत्वपूर्ण कदमका रूपमा स्वागत गरेको उहाँले बताउनुभयो।

विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले जानकारी दिनुभयो। पहिलो, विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने उहाँको धारणा छ। दोस्रो, महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। तेस्रो, World Health Organization लाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य तथा विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्वलाई सुदृढ गर्नुपर्ने उहाँले बताउनुभयो।

चौथो प्राथमिकताका रूपमा सम्पूर्ण सरकार, सम्पूर्ण समाज र ‘One Health’ अवधारणामार्फत समुदायलाई महामारी तयारीको केन्द्रमा राख्नुपर्ने मन्त्री खनालले बताउनुभयो। महामारीको प्रभाव स्वास्थ्य क्षेत्रमा मात्र सीमित नहुने भएकाले सरकारका विभिन्न निकाय, समुदाय, स्वास्थ्य क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। पाँचौँ प्राथमिकताका रूपमा युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

मन्त्री खनालले विश्व समुदायले संकट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आग्रह गर्नुभयो। महामारी आउनुअघि नै जोखिम पहिचान, तयारी र आवश्यक स्रोत व्यवस्थापन गर्न सके सम्भावित क्षति कम गर्न सकिने उहाँको भनाइ थियो।

नेपालले महामारी तयारीलाई विश्वव्यापी स्वास्थ्य सुरक्षाको साझा जिम्मेवारीका रूपमा लिएको मन्त्री खनालले बताउनुभयो। कुनै पनि देश वा पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। महामारीको जोखिम सीमाविहीन हुने भएकाले यसको रोकथाम, तयारी र प्रतिकार्यमा पनि विश्वव्यापी ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको उहाँको जोड थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images