करदाता प्रोत्साहन कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज (कात्तिक १ गते) घोषणा गरिने भएको छ।
करदाता प्रोत्साहन कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै।
१६ जनाले जनही एक लाख रुपैयाँ पाउने।
बम्पर विजेतालाई करकट्टीपछि साढे सात लाख।
दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता घोषणा गर्ने।
न्युरोडस्थित विशाल बजारमा बिहान १० बजे कार्यक्रम।
अर्थ मन्त्रालयको सचिवालयले दिएको जानकारीअनुसार असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि १७ जना विजेता छनोट गरिनेछन्। तीमध्ये १६ जनाले जनही एक लाख ३४ हजार ३३४ रुपैयाँ (करकट्टीअघि) र बम्पर विजेताले १० लाख रुपैयाँ (करकट्टीअघि) प्राप्त गर्नेछन्।
करकट्टीपछि १६ जना विजेताले जनही एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। नयाँ सडकस्थित विशाल बजार परिसरमा बिहान १० बजे हुने कार्यक्रममा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको घोषणा गर्नेछन्।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस