च्याउखेतीबाट आत्मनिर्भर बनिन् कञ्चनपुरकी पार्वती थापा
नेपालसेज | कञ्चनपुर। श्रीमान् गुमाएपछि आत्मनिर्भर बन्ने उद्देश्यले सुरु गरेको च्याउखेतीले भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाको जीवनमा आर्थिक परिवर्तन ल्याएको छ। सामान्य जानकारीका आधारमा सुरु गरेको व्यवसायलाई विस्तार गर्दै उनले अहिले पाँचवटा च्याउ फार्म सञ्चालन गरिरहेकी छिन् ।
भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले पाँचवटा च्याउ फार्म सञ्चालन गर्दै आएकि छिन्।
उनले वार्षिक करिब १ हजार ५०० केजी च्याउ उत्पादन तथा बिक्री गर्छिन्।
च्याउखेतीबाट वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
व्यवसायबाट हुने नाफा पुनः खेती विस्तारमा लगानी गर्दै आएकी छिन्।
बजारमा बाहिरी जिल्लाबाट आउने सस्तो च्याउका कारण स्थानीय उत्पादनको उचित मूल्य पाउन कठिनाइ भइरहेको छ।
च्याउखेतीबाट हुने आम्दानीले घरखर्चसँगै दुई छोराको पढाइ खर्चसमेत धान्न सहयोग पुगेको छ। उनले वर्षभरि सिजनअनुसार च्याउ उत्पादन गर्दै आएकी छिन्। सुरुआती दिनमा खेती गर्ने तरिकाबारे पर्याप्त ज्ञान नहुँदा समस्या भोग्नुभए पनि निरन्तर प्रयास र सिकाइले व्यवसायलाई व्यवस्थित बनाउन सफल भएकी छिन्। अहिले उनको च्याउखेती आत्मनिर्भरता र महिला उद्यमशीलताको उदाहरण बनेको छ।
विसं २०६९ मा श्रीमान् गुमाएपछि थापाले आर्थिक रूपमा आत्मनिर्भर बन्न केही गर्नुपर्ने सोच बताइन् । अरूसँग पैसा माग्नुपर्ने अवस्थाले मनमा परेको पीडालाई सम्झँदै उनले आफैँले आम्दानी गर्न सक्ने व्यवसाय सुरु गर्ने निर्णय गरिन्। आफन्तबाट च्याउ प्राप्त भएपछि त्यसैलाई खेती गरेर आम्दानी गर्न सकिन्छ कि भन्ने सोच उनमा आएको थियो।
सात वर्षअघि च्याउखेती सुरु गर्दा उनलाई च्याउको बीउ कहाँ पाइन्छ भन्ने जानकारीसमेत थिएन। कृषि विज्ञान अध्ययन गरिरहेका छोराले च्याउखेतीसम्बन्धी पुस्तक दिएपछि उनले त्यसैका आधारमा खेती गर्ने प्रयास गरिन् । तर, व्यावहारिक ज्ञानको अभावमा सुरुमा राखिएका पाँच पोका च्याउ नै नष्ट भए। पुस्तकमा पढेको ज्ञान मात्र पर्याप्त नहुने अनुभव उनले सुरुआतमै गरिन्।
त्यसपछि कृषि ज्ञान केन्द्र र च्याउखेती गरिरहेका अन्य किसानसँग सिक्ने अवसर पाएपछि उनको उत्पादनमा सुधार आयो। पराल काट्ने, उमाल्ने र च्याउका पोका तयार गर्ने प्रक्रियादेखि खेती व्यवस्थापनसम्मका सीप उनले अन्य किसानबाट सिकिन्। च्याउखेतीबाट आम्दानी हुन थालेपछि हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएकि छिन्।
थापाका अनुसार च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको छ। उनले वार्षिक करिब एक हजार ५०० केजी च्याउ बिक्री गर्दै दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्। च्याउ बिक्रीबाट प्राप्त रकमले घरखर्च र छोराहरूको पढाइमा सहयोग पुगेको छ। अहिलेसम्म छुट्टै व्यक्तिगत पुँजी लगानी नगरी बिक्रीबाट प्राप्त नाफा नै व्यवसाय विस्तारमा प्रयोग गर्दै आएको उनको भनाइ छ।
सुरुआती चरणमा बाँसको टहरा बनाएर खेती गर्दा हरेक वर्ष हावाहुरीले छाना उडाउने समस्या थियो। कृषि ज्ञान केन्द्रबाट च्याउखेतीसम्बन्धी कार्यक्रम सञ्चालन हुने जानकारी पाएपछि निवेदन दिँदा सहयोग प्राप्त भएको उनले बताइन् । उक्त सहयोगपछि खेतीलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहज भएको छ।
उत्पादन बढाउने सम्भावना हुँदाहुँदै पनि बजारको समस्या उहाँका लागि चुनौती बनेको छ। बाहिरी जिल्लाबाट सस्तो मूल्यमा च्याउ आउने हुँदा स्थानीयस्तरमा मेहनत गरेर उत्पादन गरिएको च्याउले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ। उत्पादन बढाउने योजना भए पनि बजार मूल्य सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा कठिनाइ भइरहेको उनी बताउँछिन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ। स्थानीय किसानले उत्पादन गरेको च्याउलाई बजारसम्म पुर्याउने र उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था भए व्यवसाय अझै विस्तार गर्न सकिने उनको विश्वास छ।
— नेपालसेज | प्रकाशित: १८ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस