नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
नेपालसेज/ काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही निर्वाचित भएको पुष्टि गरेको छ। यद्यपि, केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन।
जीवनबहादुर शाही नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
उनले पिछडिएको क्षेत्रबाट ३ हजार ९०६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए।
कांग्रेसको मिडिया सेन्टरले नतिजा पुष्टि गरे पनि केन्द्रीय निर्वाचन समितिको औपचारिक घोषणा बाँकी छ।
१४औँ महाधिवेशनमा शाही बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।
कांग्रेसको वेबसाइटमा उल्लेखित मतपरिणामअनुसार कुल ६ हजार ७२९ मत खसेकोमा ३३ मत बदर भएका छन्। शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए। त्यस्तै, सहमहामन्त्रीका अन्य उम्मेदवार राजन कुँवरले ३२४ मत र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।
१४औँ महाधिवेशनमा पनि शाही तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यतिबेला उनी डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।
गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएका शाही पछिल्लो समय असोज २ गते देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस