२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

धानखेतमा फूलखेती

झापाका तीन किसानको सामूहिक फूलखेती, धानभन्दा कैयौँ गुणा बढी आम्दानीको अपेक्षा

बुद्धशान्ति गाउँपालिकाका तीन किसानले १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा लगाएका छन्। पाँच लाख ५० हजार लगानीमा १० हजार माला उत्पादन गर्ने लक्ष्य छ।

आइतवार , कार्तिक १५, २०८३

 

सम्पादकीय सारांश

Verified

झापाको बुद्धशान्तिमा तीन किसानले सामूहिक रूपमा सयपत्रीखेती सुरु।

१० कट्ठा जमिनमा सात हजारभन्दा बढी बिरुवा रोपिएको।

पाँच लाख ५० हजार रुपैयाँ लगानीमा १० हजार माला उत्पादनको लक्ष्य।

फूल बिक्रीबाट १० देखि १२ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा।

आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने योजना।

नेपालसेव/ झापा — धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेका छन्। परम्परागत धानखेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसानले व्यावसायिक फूलखेती सुरु गरेका छन्। वर्षभरि धानखेती गर्दा करिब ५० हजार रुपैयाँको उत्पादन हुने १० कट्ठा जमिनबाट फूलखेतीमार्फत १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य उनीहरूले राखेका छन्।

विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा ‘कृषि कम्पास’ समूह गठन गरी फूलखेती सुरु गरेका हुन्। उनीहरूले उक्त क्षेत्रफलमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेका छन्। परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि उनीहरूको सामूहिक प्रयास नयाँ सम्भावनाका रूपमा देखिएको छ।

फूलखेतीका लागि समूहले पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। लगानीबाट करिब १० हजार माला उत्पादन गर्ने उनीहरूको अपेक्षा छ। उत्पादित माला बिक्री गरेर कम्तीमा १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। अहिले खेतबाट फूल टिप्ने, माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्ने काम भइरहेको छ।

समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन धान उत्पादन हुन्थ्यो। त्यसको हालको बजार मूल्य करिब ५० हजार रुपैयाँ मात्र हुने उहाँले बताए। धानखेतीबाट हुने आम्दानीको तुलनामा फूलखेतीबाट बढी प्रतिफल प्राप्त हुने सम्भावना देखेपछि आफूहरू यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

“यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार मात्रै हो। पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भने।

उहाँका अनुसार फूलको बजारसमेत राम्रो रहेको छ। एउटा सयपत्री मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने भएकाले उत्पादन बिक्री गर्न सके अपेक्षित आम्दानी हासिल गर्न सकिने उहाँको विश्वास छ।

यस वर्षको अनुभव र बजारको सम्भावनाबाट उत्साहित किसानले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएका छन्। समूहका सदस्य विनोद रिजालका अनुसार आगामी वर्ष तीन बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्ने तयारी भइरहेको छ। बजारको माग र उत्पादनको सम्भावनालाई ध्यानमा राखेर खेती विस्तार गर्न लागिएको उहाँले बताए ।

तर, फूलखेतीमा आम्दानीको सम्भावनासँगै बजार व्यवस्थापन र भण्डारण चुनौतीका रूपमा देखिएका छन्। फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्‍याउनुपर्ने समस्या किसानले भोगिरहेका छन्। विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले पर्याप्त बजार नपाउने र लगानी जोखिममा पर्ने चिन्ता किसानको छ।

यसै विषयमा जिल्लाका व्यावसायिक फूल किसानको समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो। किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने र भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्नुपर्ने माग गरेका थिए।

किसानको माग तथा जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगेका थिए। उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेट गरी उत्पादन, बजारको माग र बिक्री वितरणको अवस्थाबारे स्थलगत जानकारी लिए।

सो अवसरमा पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताउनुभयो। स्वदेशी उत्पादनले बजार पाउनुपर्ने किसानको माग जायज रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति प्रशासनले लिने बताए ।  

“झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो। पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ”, पोखरेलले भने । 

स्थानीयसमेत रहनुभएका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालका अनुसार जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढ्दै गएको छ। बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा फूलखेती भइरहेको उहाँले जानकारी दिए । 

किसानको बढ्दो आकर्षण, खेती विस्तार र स्थानीय बजारको मागलाई हेर्दा झापा जिल्लाले फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको दाहालको भनाइ छ। व्यावसायिक फूलखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीय रोजगारी र कृषि विविधीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

— नेपालसेज | प्रकाशित: १५ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images