नेपालसेज/ काठमाडाैं।
जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको गुटेरेसको चेतावनी।
सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको उल्लेख।
सन् २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमता तीन गुणाले बढाउनुपर्ने प्रस्ताव।
विकसित देशले सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग।
जीवाश्म इन्धन कम्पनीको नाफामा कर लगाएर जलवायु क्षति बेहोरेका देशलाई सहयोग गर्नुपर्ने आग्रह।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको चेतावनी दिँदै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्। टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको बताएका छन्। पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको उल्लेख गर्दै उनले वर्तमान जलवायु सङ्कटले मानव जीवन, जीविकोपार्जन र विश्व अर्थतन्त्रमा गम्भीर असर पारिरहेको बताएका छन्। जीवाश्म इन्धनको व्यापारबाट केही स्वार्थ समूहले ठूलो नाफा कमाइरहेको तर त्यसको मूल्य विश्वले वातावरणीय विनाश र जलवायु विपद्का रूपमा चुकाउनुपरेको उनको भनाइ छ। उनले वर्तमान अवस्थालाई सामूहिक विनाशतर्फको यात्राको संज्ञा दिँदै विश्व नेताहरूलाई तत्काल र प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।
सन् २०१५ मा पेरिस जलवायु सम्झौतामार्फत विश्वले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै महासचिव गुटेरेसले उक्त सीमा अस्थायी रूपमा नाघ्ने अवस्था अपरिहार्य देखिएको बताएका छन्। यद्यपि, त्यसलाई स्थायी अवस्था बन्न नदिन तथा तापक्रम वृद्धि कति हुने र कति समयसम्म उच्च रहने भन्ने निर्धारण गर्न अझै अवसर रहेको उनले स्पष्ट पारेका छन्। “विज्ञानले हामीलाई आत्मसमर्पण गर्न भनेको छैन, अझ कडा सङ्घर्ष गर्न भनिरहेको छ”, उनले भनेका छन्, “हामीलाई सत्य थाहा छ, अब त्यसअनुसार काम गर्नुपर्छ।”
महासचिव गुटेरेसले विगत एक दशकको जलवायु कार्यबाट तीनवटा प्रमुख पाठ सिकिएको उल्लेख गरेका छन्। उनका अनुसार स्वच्छ ऊर्जाको विस्तार तीव्र गतिमा सम्भव भएको, जीवाश्म इन्धनको औचित्य कमजोर हुँदै गएको र विश्वव्यापी जलवायु कार्य भने अझै सुस्त रहेको छ। एक दशकअघि विश्वको कुल विद्युत् उत्पादनमा सौर्य ऊर्जाको योगदान एक प्रतिशत मात्र रहेकामा गत वर्ष विश्वव्यापी विद्युत् मागमा भएको वृद्धिको झण्डै तीन चौथाइ हिस्सा सौर्य ऊर्जाले पूरा गरेको उनले बताएका छन्। त्यस्तै, दश वर्षअघि बिक्री हुने प्रत्येक १०० कारमध्ये एउटा मात्र विद्युतीय रहेकामा यस वर्ष बिक्री हुने प्रत्येक तीनमध्ये झण्डै एउटा विद्युतीय कार हुने अनुमान गरिएको उनले उल्लेख गरेका छन्।
विश्वका अधिकांश क्षेत्रमा नयाँ विद्युत् उत्पादनका लागि स्वच्छ ऊर्जा सबैभन्दा सस्तो स्रोत बनिसकेको उल्लेख गर्दै उनले राजनीतिक अवरोधका बाबजुद यसको विस्तार भइरहेको बताएका छन्। जीवाश्म इन्धन आयातमा निर्भर विश्वका तीन चौथाइ जनसङ्ख्या मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वबाट सिर्जित ऊर्जा असुरक्षाको जोखिममा रहेको उनको भनाइ छ। त्यसैले विज्ञानमा आधारित, न्यायपूर्ण, व्यवस्थित र समतामूलक ढङ्गले नवीकरणीय ऊर्जातर्फ सङ्क्रमण गर्नुपर्नेमा उनले जोड दिएका छन्। जीवाश्म इन्धनको पक्षमा रहेका स्वार्थ समूहले वैज्ञानिक तथ्यलाई तोडमरोड गर्ने, नीतिगत निर्णय र कार्यान्वयनमा ढिलाइ गर्ने तथा जवाफदेहिताबाट पन्छिने रणनीति अपनाइरहेको आरोपसमेत उनले लगाएका छन्।
विश्वव्यापी उत्सर्जन प्रत्येक वर्ष करिब छ प्रतिशतका दरले घटाउनुपर्ने आवश्यकता रहे पनि हालका राष्ट्रिय योजनाले त्यसको बढीमा एक तिहाइ मात्र कटौती सुनिश्चित गर्ने देखिएको गुटेरेसले बताएका छन्। ती योजना पूर्ण रूपमा कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने र त्यसले खतरनाक तथा अपरिवर्तनीय सीमाबिन्दु पार गर्ने जोखिम रहेको उनले चेतावनी दिएका छन्।
महासचिव गुटेरेसले आगामी दशकको प्रमुख चुनौतीका रूपमा जलवायु न्यायलाई औँल्याउँदै विकासशील देशलाई अर्थतन्त्र रूपान्तरणका लागि आवश्यक वित्तीय तथा प्राविधिक साधन उपलब्ध गराउनुपर्ने बताएका छन्। चीनबाहेकका उदीयमान तथा विकासशील अर्थतन्त्रमा विश्वको झण्डै दुई तिहाइ जनसङ्ख्या बसोबास गरे पनि ती देशले विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको पाँच भागको एक भागभन्दा कम मात्र प्राप्त गरिरहेको उनले उल्लेख गरेका छन्। ती देशमध्ये अधिकांशले ऋण लिन अन्य देशको तुलनामा दुईदेखि तीन गुणासम्म बढी ब्याज तिर्नुपर्ने अवस्था रहेको बताउँदै उनले सस्तो स्वच्छ ऊर्जामा पहुँच नहुँदा जीवाश्म इन्धनमाथिको निर्भरता दशकौँसम्म कायम रहने चेतावनी दिएका छन्।
उनले साझा जिम्मेवारी, साझा सुरक्षा र साझा लाभमा आधारित नयाँ ‘जलवायु न्याय सम्झौता’ आवश्यक रहेको उल्लेख गर्दै त्यसका चार प्रमुख स्तम्भ प्रस्तुत गरेका छन्। पहिलो, जीवाश्म इन्धनबाट न्यायपूर्ण सङ्क्रमणलाई तीव्रता दिने, दोस्रो, जलवायु परिवर्तनका असरबाट मानिस र समुदायको संरक्षण गर्ने, तेस्रो, पर्याप्त, सस्तो र सहज रूपमा उपलब्ध जलवायु वित्त सुनिश्चित गर्ने तथा चौथो, विश्वव्यापी विभाजनको सट्टा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने उनले बताएका छन्।
जीवाश्म इन्धनबाट न्यायपूर्ण सङ्क्रमणका लागि सन् २०३५ सम्ममा सन् २०२५ को तुलनामा नवीकरणीय ऊर्जा उत्पादन क्षमता कम्तीमा तीन गुणाले बढाउनुपर्ने र कार्बन उत्सर्जन नियन्त्रण नगरिएको कोइलामा आधारित विद्युत् उत्पादन कम्तीमा ७५ प्रतिशतले घटाउनुपर्ने उनले बताएका छन्। सन् २०४० सम्ममा यस्तो कोइलामा आधारित विद्युत् उत्पादन लगभग पूर्ण रूपमा बन्द गर्नुपर्ने तथा तेल र ग्यासको प्रयोग करिब एक तिहाइले घटाउनुपर्ने उनको प्रस्ताव छ। यसका लागि नयाँ कोइला परियोजना तथा १.५ डिग्रीको लक्ष्य हासिल गर्न बाधक बन्ने नयाँ तेल र ग्यास पूर्वाधार निर्माण रोक्न, मिथेन उत्सर्जन घटाउन तथा नवीकरणीय ऊर्जा, विद्युत् प्रसारण सञ्जाल र ऊर्जा भण्डारणमा लगानी बढाउन उनले आह्वान गरेका छन्। वन, महासागर र जैविक विविधताको संरक्षणलाई पनि न्यायपूर्ण ऊर्जा सङ्क्रमणको अभिन्न हिस्सा बनाउनुपर्ने उनको भनाइ छ।
जलवायु अनुकूलनलाई जीवन रक्षाको विषयका रूपमा व्याख्या गर्दै उनले विकासशील देशलाई नयाँ पुस्ताका राष्ट्रिय अनुकूलन योजना निर्माण र कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। पृथ्वीका प्रत्येक व्यक्तिलाई पूर्वचेतावनी प्रणालीको पहुँचमा पुर्याउनुका साथै प्रत्येक समुदायलाई बाढी, खडेरी र समुद्री सतह वृद्धिको जोखिमबाट सुरक्षित गर्नुपर्ने उनले बताएका छन्। अनुकूलनका उपाय प्रभावकारी हुन नसक्ने अवस्थामा जलवायु परिवर्तनबाट हुने हानि तथा क्षतिसम्बन्धी सहायता छिटो र सहज रूपमा उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
जलवायु वित्तका सम्बन्धमा विकसित देशले सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर उपलब्ध गराउन नेतृत्व गर्नुपर्ने र सोही अवधिसम्म अनुकूलन वित्त कम्तीमा तीन गुणाले बढाउने ठोस योजना प्रस्तुत गर्नुपर्ने गुटेरेसले बताएका छन्। विकासशील देशका लागि प्रस्तावित एक दशमलव तीन ट्रिलियन अमेरिकी डलरको लक्ष्य वास्तविक वित्तीय प्रवाहमा परिणत हुनुपर्ने उनको भनाइ छ। बहुपक्षीय विकास बैंकले सन् २०३० सम्म वार्षिक १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने बाकु प्रतिबद्धताभन्दा बढी सहयोग गर्नुपर्ने, निजी लगानी परिचालन गर्नुपर्ने र जोखिममा रहेका विकासशील देशको आवश्यकता सम्बोधन गर्न नवीन वित्तीय उपकरण प्रयोग गर्नुपर्ने उनले बताएका छन्। हरित जलवायु कोष तथा हानि तथा क्षति सम्बोधन कोषमा थप स्रोत सुनिश्चित गर्न र दक्षिण–दक्षिण सहकार्यमार्फत प्रविधि तथा वित्तमा पहुँच विस्तार गर्न पनि उनले आग्रह गरेका छन्।
जीवाश्म इन्धनबाट अत्यधिक नाफा कमाउने कम्पनीले जलवायु क्षतिको लागत बेहोर्नुपर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले पछिल्लो एक त्रैमासिक अवधिमा विश्वका नौ ठूला तेल कम्पनीले ९५ अर्ब अमेरिकी डलर नाफा कमाएको तर हानि तथा क्षति कोषमा करिब ६० करोड अमेरिकी डलर मात्र जम्मा भएको बताएका छन्। ती कम्पनीले करिब १४ घण्टामा कमाउने नाफाबराबरको रकम मात्र उक्त कोषमा रहेको उल्लेख गर्दै उनले सरकारले जीवाश्म इन्धन कम्पनीको अप्रत्याशित नाफामा कर लगाएर जोखिममा रहेका देशको पुनरुत्थानमा खर्च गर्नुपर्ने बताएका छन्। “प्रदूषण गर्नेहरूले यसको मूल्य चुकाउनुपर्छ”, उनले भनेका छन्।
अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिँदै उनले व्यापार अवरोध, प्रविधिमा एकाधिकार र भूराजनीतिक प्रतिस्पर्धाले ऊर्जा सङ्क्रमणलाई महँगो र कठिन बनाउनुका साथै अर्बौँ मानिसलाई पछाडि पार्ने बताएका छन्। सबै विषयमा सहमति आवश्यक नभए पनि कुनै एक देशले एक्लै समाधान गर्न नसक्ने विषयमा सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। जलवायु वार्ताको सफलता सम्झौतामा मात्र नभई त्यसको वास्तविक कार्यान्वयनबाट मापन हुनुपर्ने उल्लेख गर्दै उनले विद्युत् प्रसारण सञ्जाल, महत्त्वपूर्ण खनिज, मिथेन उत्सर्जन र पूर्वचेतावनी प्रणालीका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले विभिन्न देश तथा साझेदारबीच सहकार्य अघि बढाइरहेको जानकारी दिएका छन्।
महासचिव गुटेरेसले जलवायु कार्यलाई दिगो विकास, शान्ति, सुरक्षा र मानव मर्यादासँग जोड्दै स्वच्छ अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। जलवायु कार्यको अग्रपङ्क्तिमा रहेका युवा, वैज्ञानिक, आदिवासी समुदाय, नागरिक समाज तथा साना टापु विकासशील राष्ट्रहरूको योगदानको प्रशंसासमेत उनले गरेका छन्। आगामी वर्षदेखि संयुक्त राष्ट्रसङ्घको महासचिव पदमा नरहे पनि जलवायु सङ्कटको सत्य उजागर गर्ने र त्यसविरुद्धको सङ्घर्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले जलवायु अभियन्तासँगै उभिने बताएका छन्।
— नेपालसेज | प्रकाशित: २६ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस