२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

इनर्जी ड्रिङ्क्समा सावधानी

इनर्जी ड्रिङ्क्स बारे सरकारको सावधानी, जथाभावी नपिउन आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती, सुत्केरी तथा क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह

बिहिवार , कार्तिक १२, २०८३

 

नेपालसेज/काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्स (Energy Drinks) सेवन गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। विभागले विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यस्ता पेय पदार्थ सेवन नगर्न अनुरोध गरेको हो।

सम्पादकीय सारांश

Verified

इनर्जी ड्रिङ्क्स दिनमा दुई क्यान (करिब ३३० मिलिलिटरका दुई क्यान) भन्दा बढी सेवन नगर्न विभागको आग्रह।

बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स नपिउन सुझाव।

मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई पनि सावधानी अपनाउन आग्रह।

नेपालमा १७ वटा उद्योगले इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरणका लागि अनुमति लिएको विभागको पत्रमा उल्लेख।

उत्पादकलाई विज्ञापन गर्दा प्रचलित कानुन पालना गर्न र लेबलमा चेतावनी तथा सुरक्षित सेवनसम्बन्धी जानकारी राख्न निर्देशन।

विभागले जारी गरेको जानकारीअनुसार इनर्जी ड्रिङ्क्स अल्कोहलरहित क्याफिनयुक्त पेय पदार्थ हुन्। यस्ता पेयमा मुख्यतः Caffeine, Guarana, Glucuronolactone, Taurine, Inositol, Carnitine, B-vitamins, Sugar र Water लगायतका सामग्री प्रयोग गरिन्छ। यी सामग्रीको मात्रा तथा संयोजन फरक हुन सक्ने भएकाले उपभोक्ताले उत्पादनको लेबलमा उल्लेख गरिएको जानकारी र चेतावनीलाई ध्यान दिनुपर्ने विभागले जनाएको छ।

विभागले पत्रमा European Food Safety Authority (EFSA) र United States Food and Drug Administration (US-FDA) लगायतका अन्तर्राष्ट्रिय संस्थाको सन्दर्भ उल्लेख गर्दै स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्क्सलगायत सबै स्रोतबाट प्राप्त गर्ने क्याफिनको कुल मात्रा ध्यान दिनुपर्ने जनाएको छ। पत्रमा दैनिक ४०० मिलिग्रामभन्दा बढी क्याफिन नलिनु सुरक्षित उपभोगको सन्दर्भका रूपमा उल्लेख गरिएको छ। यद्यपि, क्याफिन सहन सक्ने मात्रा व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, गर्भावस्था तथा अन्य संवेदनशीलताअनुसार फरक हुन सक्छ।

नेपालमा इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १७ वटा उद्योगले विभिन्न सरकारी निकायबाट अनुमति लिएको विभागको पत्रमा उल्लेख छ। विभागका अनुसार उत्पादित पेय पदार्थको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनका आधारमा ती उत्पादनमा क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको छ। विभागले उत्पादनको लेबलमा उल्लेख गरिएको चेतावनी तथा सेवनसम्बन्धी निर्देशन पालना गर्न उपभोक्तालाई आग्रह गरेको छ।

विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा नलिन र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि सुझाव दिएको छ। क्याफिनप्रति संवेदनशील व्यक्तिले यस्ता पेय पदार्थ सेवन नगर्नु उपयुक्त हुने विभागको भनाइ छ। विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र मधुमेहका बिरामीले सेवनअघि स्वास्थ्यसम्बन्धी जोखिमलाई ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, इनर्जी ड्रिङ्क्सका उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्दा सम्बन्धित निकायबाट आवश्यक अनुमति लिन, प्रचलित कानुन पालना गर्न र उपभोक्तालाई भ्रममा पार्ने खालका दाबी नगर्न विभागले आग्रह गरेको छ। उत्पादनको लेबलमा चेतावनी, सेवनसम्बन्धी जानकारी र सुरक्षित मात्राबारे स्पष्ट उल्लेख गरी उपभोक्तासम्म सही सूचना पुर्‍याउन पनि खाद्य व्यवसायीलाई अनुरोध गरिएको छ। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनविपरीत कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने विभागले जनाएको छ।

— नेपालसेज | प्रकाशित: १२ कात्तिक २०८३

।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images