पहिरोको जोखिम र जीर्ण सडकका कारण हुम्ला–सुर्खेत यात्रा कठिन बनेको छ। सडक निर्माण तथा स्तरोन्नतिमा वर्षौंदेखि बजेट खर्च हुँदै आए पनि सुरक्षित यात्राको सुविधा नपाएको भन्दै स्थानीयवासीले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालसेज/ हुम्ला।
हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले यस सडकमा यात्रा गर्न कठिन भएको हो। सडकको दयनीय अवस्थाले कर्णाली करिडोरको निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारी भूमिकामाथि प्रश्न उठाएको छ। सडकको जोखिमपूर्ण अवस्थाका कारण स्थानीयवासीले सुरक्षित र सहज यातायात सुविधा पाउन सकेका छैनन्। सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा पूरा गरेपछि सडकको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको कर्णाली करिडोर वर्षौंदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको उहाँको गुनासो छ।
जीर्ण हुम्ला–सुर्खेत सडकमा पहिरोको जोखिमका कारण यात्रु सास्तीमा।
सर्केगाडदेखि सुर्खेतसम्मको यात्रा पूरा गर्न तीन दिन लाग्ने गरेको स्थानीयको अनुभव।
सडक निर्माण र स्तरोन्नतिमा बजेट खर्च भए पनि सहज यात्रा गर्न नपाएको गुनासो।
कबाडी–सलिसल्ला सडकखण्डको अवस्थाप्रति स्थानीयवासीको चिन्ता।
सडक मर्मतसम्भार, जोखिम न्यूनीकरण र निर्माण संरचनाको गुणस्तर सुनिश्चित गर्न माग।
रावतका अनुसार विकास र समृद्धिका विषयमा चर्चा भइरहे पनि कर्णालीवासीले सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन्। सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षौंदेखि बजेट खर्च हुँदै आए पनि नागरिकले सहज यात्राको अनुभूति गर्न नसकेको भन्दै उहाँले सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। सडकका जोखिमपूर्ण स्थानमा निर्माण गरिएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि पनि स्थानीयले प्रश्न उठाएका छन्। सडक निर्माणमा खर्च भएको बजेटको प्रभावकारिता मूल्याङ्कन गर्न र निर्माण कार्यको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता रहेको रावतको भनाइ छ। जनताले दैनिक भोगिरहेको कठिनाइ प्रत्यक्ष अनुभव गरेपछि मात्र सडकको वास्तविक अवस्था बुझ्न सकिने उहाँले बताउनुभयो।
सर्केगाड गाउँपालिका–१ को खच्चामा होटल व्यवसाय गर्दै आउनुभएका डिलबहादुर कार्कीले पनि सडक स्तरोन्नति नहुँदा यात्रुले सास्ती भोग्नुपरेको गुनासो गर्नुभयो। स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याउनुभएको छ। सडकको जोखिमपूर्ण अवस्थाले यात्रु आवतजावतसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या सिर्जना गरेको छ। आपतकालीन अवस्थामा आवतजावत गर्नसमेत कठिन हुने स्थानीयवासीको भनाइ छ। हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले कर्णाली करिडोरले स्थानीयको आवतजावत, स्वास्थ्य उपचार, पर्यटन र दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।
प्राकृतिक विपत्तिका कारण पहिरो जाने र सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मतसम्भार र निर्माण भएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो। कर्णालीवासीले विकासका आश्वासनभन्दा सुरक्षित सडक र भरपर्दो यातायात सुविधाको अपेक्षा गरेका छन्। सर्केगाडदेखि सुर्खेतसम्मको तीनदिने कठिन यात्राले कर्णाली करिडोरको स्तरोन्नति र जोखिम न्यूनीकरणको आवश्यकता पुनः उजागर गरेको छ। सडकको अवस्था सुधार गर्न सरकारले प्रभावकारी कदम कहिले चाल्छ भन्ने प्रश्न अहिले हुम्लाका नागरिकले उठाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस