मौसम पूर्वानुमान महाशाखाले भदौ १७ देखि १९ गतेसम्म कोशी, बागमती, गण्डकीलगायतका विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
NepalSays/ काठमाडौं
देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जनाउँदै केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। महाशाखाले भदौ १७ गते बुधबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन भदौ १९ गतेसम्मका लागि वैध रहेको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
आज कोशीको हिमाली, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षा हुनसक्ने।
बिहीबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना।
शुक्रबार पनि कोशी, बागमती र गण्डकीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कोशीको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर बदली रहने र कोशी, बागमती तथा गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बिहीबार राति गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी शुक्रबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने चेतावनी दिएको छ। यसको असर दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतका क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र विभागका पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ। बुलेटिनमा हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस