चारदिने भ्रमणका क्रममा डा बार्बेल कोफ्लरले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा र भोटेकोशी बाढीको प्रभावबारे जानकारी लिनेछिन्।
नेपालसेज/ काठमाडौं।
जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छिन्। नेपालस्थित जर्मनी दूतावासका अनुसार भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा तथा भोटेकोशी बाढीको प्रभावलगायत विषयमा ध्यान केन्द्रित गर्नेछिन्। नेपालमा रहँदा राज्यसचिव कोफ्लरले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदार संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। भेटघाटमा दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने दूतावासले जनाएको छ।
जर्मनीकी संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै।
महिला अधिकार, स्वास्थ्य र भोटेकोशी बाढीको प्रभाव भ्रमणका प्रमुख प्राथमिकता।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट जाने कार्यक्रम।
जर्मनीले भोटेकोशी बाढी प्रतिकार्यका लागि १ करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ।
नेपाल–जर्मनी विकास सहकार्य, सङ्क्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने।
जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढी प्रतिकार्यका लागि १ करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। उक्त रकम तत्काल मानवीय सहायता सञ्चालन गर्नुका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिने जनाइएको छ। बाढीको प्रभाव र प्रभावित क्षेत्रको मानवीय अवस्था बुझ्न राज्यसचिव कोफ्लरले नुवाकोटको भ्रमण गर्नेछिन्। भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तरक्रिया गरी मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको छ।
काठमाडौंमा उनले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नेछिन्। साथै, स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम छ। नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीबारे हुने छलफलमा गत वर्षको जेनजी आन्दोलन र सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिनेछन्। राज्यसचिव कोफ्लरको भ्रमणलाई नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहेको विकास सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा विकास सहकार्यका विभिन्न तहमा संलग्न पक्षका दृष्टिकोण बुझ्ने र आगामी सहकार्यका प्राथमिकताबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
डा कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य रहँदै आएकी छन्। उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन्। उक्त भूमिकामा उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन्। यसअघि उनले सन् २०२२ मा पनि नेपालको भ्रमण गरेकी थिइन्। यसपटकको भ्रमणले विगतमा भएका सहकार्यलाई निरन्तरता दिँदै नेपाल र जर्मनीबीचको विकास साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस