दरमखोलामा आएको बाढीले २०७७ सालमा करिब ८० लाख रुपैयाँ लागतमा निर्मित गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन जगैदेखि ढलाएको छ।
NepalSays/ बागलुङ —
दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन जगैदेखि ढलाएर खोलामा पुर्याएको छ। गत असोज ११ गते आएको बाढीले जमिन कटान गर्दै २०७७ सालमा निर्माण भएको सिंगो भवन नै खोलामा लडाएको हो। संघीयता स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचनपछि वडाध्यक्ष तेजबहादुर थापाको पहलमा करिब ८० लाख रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण गरिएको थियो। तीन रोपनी क्षेत्रफलमा निर्माण भएको भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो। भवनमा पार्किङ र बगैँचासमेत निर्माण गरिएको थियो।
दरमखोलाको बाढीले वडा कार्यालय भवन पूर्ण रूपमा ढल्यो।
करिब ८० लाख रुपैयाँ लागतमा २०७७ सालमा भवन निर्माण भएको थियो।
भवन गुमेपछि अहिले भाडाको घरबाट वडा सेवा सञ्चालन भइरहेको छ।
बाढीले भवनसँगै १५ लाख रुपैयाँको सोलार बत्तीसमेत बगायो।
गलकोट नगरपालिका क्षेत्रमा बाढीले २२ घरमा क्षति पुर्याएको छ।
आफ्नै भवन बन्नुअघि वडा कार्यालय स्थानीय भैरव माध्यमिक विद्यालयको खाली कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। विद्यालयको कोठा प्रयोग गरेबापत मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरिएको थियो। नयाँ भवन बनेपछि वडा कार्यालयबाट नियमित सेवा प्रवाह हुँदै आएको थियो।
बाढीले भवनको जमिन कटान गर्न थालेपछि स्थानीयले महत्वपूर्ण कागजपत्र तथा आवश्यक सामग्री बाहिर निकालेका थिए। तर धेरै सामान भवनसँगै खोलामा पुगेका छन्। अहिले पनि जोखिम मोलेर भवनभित्र प्रवेश गरी कुर्सी, टेबल तथा कम्प्युटरका पाटपुर्जा लगायत सामग्री निकाल्ने काम भइरहेको छ। स्थानीय युवाहरूले पनि यसमा सहयोग गरिरहेका छन्।
वडाध्यक्ष थापा भने आफ्नो धानखेत बाढीले बगर बनाए पनि वडा कार्यालय भवन गुमाएकोमा बढी दुःखी छन्। उनले वडा कार्यालय रहेको स्थानमा दिनमा पटक–पटक पुग्ने गरेको र भवनको अवस्था देख्दा भावुक हुने बताएका छन्। उनका अनुसार भवनसँगै आफ्नो दुई कार्यकालको काम र मेहनतसँग जोडिएको इतिहाससमेत मेटिएको अनुभूति भएको छ।
भवन ढलेपछि पनि वडा कार्यालयको सेवा भने रोकिएको छैन। अहिले नजिकैको गाउँमा एउटा घर भाडामा लिएर सेवा प्रवाहलाई निरन्तरता दिइएको छ। भवनसँगै करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बाढीले बगाएको छ। भवनलाई पुनःस्थापना गर्न सकिने अवस्था भए त्यसबारे पहल गर्ने योजना रहेको वडाध्यक्ष थापाले बताएका छन्।
गलकोट नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले नगर क्षेत्रका २२ घरमा क्षति पुर्याएको छ। घर, गोठ तथा व्यवसायमा क्षति पुगेको जनाइएको छ। गलकोट–५ हरिचौर र वडा नम्बर ६ चरौंदी क्षेत्रमा तुलनात्मक रूपमा बढी क्षति पुगेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस