२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

गगने खोलाको पहिरो

गगने खोलाको पहिरोले वर्षौंदेखि कर्णालीबासीलाई सास्ती

कालिकोटको शुभकालिका–१ स्थित गगने खोलामा वर्षा सुरु हुनेबित्तिकै पहिरो खस्ने र कर्णाली राजमार्ग अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ।

बिहिवार , आश्विन २२, २०८३

नेपालसेज/ कालिकोट।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला क्षेत्र वर्षौंदेखि पहिरोको समस्याबाट प्रभावित हुँदै आएको छ। सामान्य वर्षामै लेदोसहितको पहिरो खस्ने भएकाले सुर्खेत–जुम्ला सडकखण्डमा आवागमन प्रभावित हुने गरेको छ।

सम्पादकीय सारांश

Verified

कालिकोटको गगने खोला क्षेत्र कर्णाली राजमार्गको पहिरोग्रस्त स्थानका रूपमा परिचित छ।

सामान्य वर्षामै लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्गमा आवागमन प्रभावित हुने गरेको छ।

पहिरो नियन्त्रणका लागि दुई वर्षअघि तीन करोड रुपैयाँमा लगाइएको ग्याबिन जालीसमेत बगेको छ।

पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्म पहिरो खस्दा तीन दिन गगने खोलामा आवागमन ठप्प भएको थियो।

शुभकालिका गाउँपालिकाले स्थायी समाधानका लागि आवश्यक बजेट र प्राविधिक पहल गर्न संघ सरकारसँग आग्रह गरेको छ।

गगने खोलामा पहिरो नियन्त्रणका लागि सडक डिभिजन जुम्लाले दुई वर्षअघि तीन करोड रुपैयाँ लगानीमा ग्याबिन जाली लगाएको थियो। तर पहिरोको दबाब थेग्न नसक्दा ग्याबिन जालीसमेत बगेको छ। पानीको निकास व्यवस्थापनलगायतका प्रयास भए पनि समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन।

वर्षा सुरु हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्म परेको वर्षाका कारण गगने खोलामा तीन दिनसम्म पहिरो खस्दा आवागमन ठप्प भएको थियो।

गगने खोलाको पहिरोले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिसमेत समस्यामा परेका छन्। पानी परेपछि जनप्रतिनिधि र सुरक्षाकर्मी पहिरो क्षेत्रमा खटिनुपर्ने अवस्था रहेको छ। गाउँपालिकाको आर्थिक क्षमताले मात्र समस्या समाधान गर्न नसक्ने भन्दै अध्यक्ष गोविन्दप्रसाद आचार्यले संघ सरकारसँग आवश्यक बजेट र प्राविधिक सहयोगको माग गरेका छन्।

आचार्यका अनुसार पहिरोका कारण कर्णालीमा उत्पादन हुने स्याउ र जडीबुटी ढुवानीमा समेत समस्या हुने गरेको छ। स्याउ बोकेका गाडी दिनौँसम्म सडकमा रोकिने र उत्पादन बिग्रिने अवस्था आउने गरेको उनले बताए। गगने खोला क्षेत्रमाथि रहेका १९ घरपरिवार विस्थापित भइसकेको र शुभकालिका–१ लाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको पनि उनले बताए।

सुर्खेत र जुम्लालाई जोड्ने सडकको ट्रयाक निर्माण २०४९/५० सालतिर सुरु भएको थियो। २०६३ सालको अन्त्यतिर जुम्लासम्म ट्रयाक जोडिएको थियो। राजमार्ग निर्माणकै क्रममा गगने खोला क्षेत्रको जोखिम पहिचान गरी सडकको लोकेसन परिवर्तन गर्न प्रस्ताव गरिएको भए पनि रेखांकन र डीपीआर भइसकेकाले परिवर्तन गर्न कठिन भएको आचार्यले बताए।

स्थायी समाधानका लागि गगने खोलालाई छलेर कर्णाली राजमार्गलाई वैकल्पिक स्थानबाट अघि बढाउनुपर्ने स्थानीय तहको माग छ। गाउँपालिकाले संघ सरकारबाट आवश्यक बजेट र प्राविधिक अध्ययनसहित दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images