कांग्रेस सभापति गगन थापाले जनादेशअनुसार रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने अवसर दिनुपर्ने भन्दै तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल आवश्यक नरहेको बताएका छन्।
NepalSays/ काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले अहिले देशलाई थप राजनीतिक ‘एड्भेन्चर’ आवश्यक नरहेको बताएका हुन्। उनले जनताले दिएको वर्तमान जनादेशलाई स्वीकार गर्दै राजनीतिक स्थिरता कायम गर्नुपर्नेमा जोड दिए। “अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस्, अब नेपालले थेग्न सक्दैन,” थापाले भने। थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जनताले दिएको म्यान्डेटअनुसार पाँच वर्ष सरकार सञ्चालन गर्ने अवसर दिनुपर्ने बताए। रास्वपाले निर्वाचनबाट प्राप्त गरेको जनादेशलाई सम्मान गर्नुपर्ने भन्दै उनले आगामी पाँच वर्षपछि हुने निर्वाचनलाई लक्षित गरेर कांग्रेसले आफ्नो तयारी गर्ने बताए।
गगन थापाले नेपालले तत्काल अर्को राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्।
उनले रास्वपालाई जनादेशअनुसार पाँच वर्ष सरकार चलाउन दिनुपर्ने बताए।
पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी तयारी गरिरहेको उनको भनाइ छ।
विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दा संकट भोग्नुपरेको उनले बताए।
संसद्मा निर्वाचित सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको भन्दै थापाले प्रश्न उठाए।
“राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भएर आएको छ, पाँच वर्ष उहाँहरूले नेतृत्व गर्नेछ। अर्को पाँच वर्षपछि चुनाव गर्ने, हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ,” थापाले भने। उनका अनुसार अहिलेको प्राथमिकता सरकार परिवर्तन वा नयाँ राजनीतिक प्रयोगभन्दा जनताले दिएको म्यान्डेटअनुसार काम गर्ने वातावरण बनाउनु हुनुपर्छ।
नयाँ राजनीतिक शक्तिले पनि विगतका स्थापित दलहरूले गरेका गल्तीबाट पाठ सिक्नुपर्ने थापाको भनाइ थियो। उनले संख्या नै ठूलो शक्ति हो भन्ने भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गरे। विगतमा कांग्रेस र एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको भन्दै त्यसको परिणाम अहिले भोग्नुपरेको उनले बताए।
थापाले दुईतिहाइ बहुमत मात्रै राजनीतिक शक्तिको आधार बन्न नसक्ने बताए। निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमाउँदै गएमा ठूलो राजनीतिक शक्ति पनि कमजोर बन्ने उनको भनाइ थियो। लोकतन्त्रमा सरकारको शक्ति केवल संसद्को अंकगणितबाट नभई जनताको विश्वास र नैतिक नेतृत्वबाट समेत निर्धारण हुने उनले बताए।
सरकारले निर्वाचनमा आफूलाई मत दिएका नागरिकसँगै मत नदिएका नागरिकको विश्वास पनि कायम गर्नुपर्ने थापाको धारणा थियो। लोकतन्त्रमा सरकार सबै नागरिकको सरकार हुनुपर्ने भन्दै उनले जनमतको सम्मान र जनविश्वास कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए।
यसै क्रममा थापाले प्रतिनिधिसभामा सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको भन्दै आलोचना गरे। संसद्मा निर्वाचित भएर आएपछि आफूले जे बोले पनि हुने र जे गरे पनि हुने मानसिकता देखिएको भन्दै उनले प्रश्न उठाए।
“यसो संसद्तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ। मैले जे बोले पनि हुन्छ, मैले जे फुके पनि हुन्छ। यो संसद हो यो? संसदको गरिमा हुन्न? संसदको मर्यादा हुन्न?” भन्दै थापाले सांसदहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।
थापाको पछिल्लो अभिव्यक्तिले तत्कालीन राजनीतिक समीकरणमा नयाँ सत्ता परिवर्तन वा अर्को राजनीतिक प्रयोगभन्दा वर्तमान जनादेशलाई पूरा अवधि काम गर्न दिने पक्षमा कांग्रेस रहेको संकेत गरेको छ। साथै, आगामी निर्वाचनका लागि कांग्रेसले अहिलेबाटै तयारी गर्ने उनको भनाइले कांग्रेसको भावी राजनीतिक रणनीतिसमेत स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस