संगठित सञ्जाल बनाएर संस्थानलाई आर्थिक क्षति पुर्याएको आरोप, काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले थाल्यो अनुसन्धान
नेपालसेज/ काठमाडौं — नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (DDC) मा १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संस्थानलाई आर्थिक क्षति पुर्याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुग्ध विकास संस्थान (DDC) का तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ।
१२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक निष्कर्ष।
पक्राउ पर्नेमा प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका पूर्वप्रमुख र कर्मचारी।
आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले पूर्वयोजनाअनुसार विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालको आवरणमा संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त कार्यबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको प्रहरीको भनाइ छ।
यस प्रकरणमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर प्रहरीले २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ बस्ने ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनी डिडिसीका तत्कालीन महाप्रबन्धक हुन् भने हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरिएको हो।
त्यस्तै, सिराहा नगरपालिका–१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने ४६ वर्षीय विजयकुमार यादव पक्राउ परेका छन्। उनी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज थिए भने हाल काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए। उनलाई बालाजुबाट पक्राउ गरिएको हो।
पर्वतको मोदी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ५५ वर्षीय मनहरी शर्मा पनि पक्राउ परेका छन्। उनी तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज थिए भने हाल डिडिसीको केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए। उनलाई कास्कीको पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सर्लाहीको मोहनपुर स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने ४९ वर्षीय रामकेवल राय पक्राउ परेका छन्। उनी तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज थिए भने हाल काठमाडौं दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए। उनलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ मोहनपुरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्ने अन्य व्यक्तिमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने २८ वर्षीय जितेन्द्रकुमार यादव रहेका छन्। उनी हेटौँडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत थिए। उनलाई भरतपुर महानगरपालिका–५ आनन्दपुरबाट पक्राउ गरिएको हो।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ घर भएका ३२ वर्षीय नवीन राय यादव पनि पक्राउ परेका छन्। उनी नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्जका रूपमा कार्यरत डेरी ब्वाई पदका कर्मचारी हुन्। उनलाई सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको माडी नगरपालिका–२ बस्ने ४६ वर्षीय शिवनन्दन राय पक्राउ परेका छन्। उनी माडी चिस्यान केन्द्रमा दैनिक पारिश्रमिकमा कार्यरत कर्मचारी थिए। उनलाई माडी नगरपालिका–१ भरुवाबाट पक्राउ गरिएको हो।
आठौँ पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ घर भएका ४८ वर्षीय विखबहादुर भण्डारी रहेका छन्। उनी चिस्यान केन्द्र इन्चार्जका रूपमा माडी, चितवनमा कार्यरत जुनियर टेक्निकल असिस्टेन्ट हुन्। उनलाई पनि माडी नगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। सरकारी स्वामित्वको संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोपमा अनुसन्धान अघि बढाइएको यस प्रकरणमा थप तथ्य तथा संलग्नताबारे अनुसन्धानपछि खुल्नेछ।
— नेपालसेज | प्रकाशित: २०८३ कात्तिक १४ गते, शुक्रबार
प्रतिक्रिया दिनुहोस