सरकारी शिक्षण संस्थामा ४१८ सिट थप
काठमाडौं । चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप गरिएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई दिइएको जानकारी दिएका छन्। मन्त्री पोखरेलका अनुसार निजी कलेजको सिट संख्या यथावत राखेर थप सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको हो। जेहेन्दार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामै चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताएका छन्।
चिकित्सा शिक्षामा ४१८ नयाँ सिट थप।
थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई।
गेटामा ५० सिटसहित एमबीबीएस सुरु हुने।
बीपी कोइराला र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप।
बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप।
थप सिटमध्ये गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पठनपाठन सुरु हुने भएको छ। सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना पूरा गर्ने क्रममा विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थप गरिएको छ। यससँगै एमबीबीएसतर्फ थपिएका सिटको संख्या ११० पुगेको छ।
मन्त्री पोखरेलका अनुसार बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप गरिएको छ। चिकित्सा शिक्षाको पहुँच विस्तार गर्दै नेपाली विद्यार्थीलाई आफ्नै देशमा डाक्टर तथा नर्स बन्ने अवसर बढाउन सरकार क्रियाशील रहेको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस