मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी तथा कन्सुलर सेवा छिटो, सहज र नागरिकमैत्री बनाउने योजना संसदीय सुनुवाइमा प्रस्तुत गरेका छन्।
नेपालसेज/ काठमाडौँ।
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्दै नेपाली नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनुवाइका क्रममा खरेलले राहदानी विभागसँग समन्वय गरी प्रक्रियामा रहेका अनावश्यक ढिलाइ हटाउने योजना प्रस्तुत गरेका हुन्। राहदानी तयार भएपछि सुरक्षित कुरियर सेवामार्फत श्रमिकको आवास वा कार्यस्थलमै पुर्याउने व्यवस्था मिलाउने उनको कार्ययोजना छ।
प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
राहदानी तयार भएपछि सुरक्षित कुरियरमार्फत श्रमिकको आवास वा कार्यस्थलमा पुर्याउने योजना छ।
मोबाइल सन्देशबाट राहदानीको अवस्था ट्र्याक गर्न सकिने डिजिटल प्रणाली सुरु गर्ने प्रस्ताव छ।
नेपाली श्रमिकको संख्या धेरै भएका क्षेत्रमा मोबाइल राहदानी तथा कन्सुलर शिविर सञ्चालन गरिने योजना छ।
नेपाली नागरिकको सुरक्षा, कानुनी सहायता र आर्थिक कूटनीतिलाई प्राथमिकता दिने खरेलको प्रतिबद्धता छ।
उनले मोबाइल सन्देशमार्फत राहदानीको अवस्था आफैँले ट्र्याक गर्न सक्ने डिजिटल प्रणाली सुरु गर्ने योजना पनि अघि सारेका छन्। गम्भीर बिरामी, वृद्धवृद्धा तथा आकस्मिक अवस्थाका नागरिकलाई सेवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता उनले जनाएका छन्। मलेसियामा धेरै नेपाली श्रमिक रहेका क्षेत्रहरूमा मोबाइल राहदानी तथा कन्सुलर शिविर सञ्चालन गर्ने उनको योजना छ। साथै, अनलाइनमार्फत कागजात प्रमाणीकरणका लागि समय लिने र आवेदनको अवस्था हेर्न सकिने प्रणाली विकास गर्ने बताएका छन्।
क्वालालम्पुरस्थित नेपाली दूतावाससम्म आउन नसक्ने टाढाका क्षेत्रमा रहेका नेपालीलाई लक्षित गरी सेवा पहुँच विस्तार गर्ने योजना पनि खरेलले प्रस्तुत गरेका छन्। प्रमाणीकरण भएका कागजात सुरक्षित रूपमा हुलाकमार्फत फिर्ता पठाउने विकल्प उपलब्ध गराउने तथा सेवा शुल्क, आवश्यक कागजात र सम्पर्क विवरण अनलाइनमा स्पष्ट रूपमा राख्ने उनको प्रतिबद्धता छ। कारागार तथा हिरासतमा रहेका नेपाली नागरिकका लागि कानुनी सहायता संयन्त्र बलियो बनाउने र उनीहरूको कानुनी अवस्था, अदालतको मिति तथा स्वदेश फिर्तीसम्बन्धी विवरण व्यवस्थित राख्ने योजना पनि उनले सुनाएका छन्।
खरेलले मलेसियालाई मुख्य केन्द्र बनाएर इन्डोनेसिया, ब्रुनाई दारुसलाम, फिलिपिन्स र टिमोर लेस्तेमा गैरआवासीय राजदूतका रूपमा काम गर्ने प्रस्तावित जिम्मेवारीअन्तर्गत क्वालालम्पुरस्थित दूतावासलाई कूटनीतिक, आर्थिक तथा नागरिक पहुँचको प्रमुख माध्यम बनाउने योजना प्रस्तुत गरेका छन्। उनले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्ने, आधुनिक दूतावासमार्फत द्रुत सेवा प्रदान गर्ने तथा नेपालको आर्थिक हित प्रवर्द्धन गर्न सीप विकास, पर्यटन, व्यापार र लगानी वृद्धिमा जोड दिने प्रतिबद्धता जनाएका छन्। मलेसियाको कानुनी व्यवस्था र द्विपक्षीय संयन्त्रभित्र रहेर आपसी सम्मानका साथ काम गर्ने उनको योजना छ।
कागजी प्रक्रिया पूरा गर्नुलाई मात्र सफलताको आधार नबनाई नागरिकले पाएको सेवा र उनीहरूका समस्या समाधानलाई उपलब्धिको मापन बनाउने खरेलले बताएका छन्।
प्रतिक्रिया दिनुहोस