२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

करदाता प्रोत्साहन कार्यक्रम

बिल जारी गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने सरकारकाे तयारी

विक्रेता व्यवसायीलाई पुरस्कार दिने व्यवस्था गर्न कार्यविधि संशोधन गरी प्रस्ताव ल्याउन आन्तरिक राजस्व विभागलाई निर्देशन।

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा उनले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधन गरी प्रस्ताव पेस गर्न निर्देशन दिएका हुन्।

सम्पादकीय सारांश

Verified

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा बिल जारी गर्ने विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन दिन निर्देशन।

बिल लिने संस्कार विकास भए पनि बिल जारी गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने अर्थमन्त्रीको भनाइ।

विक्रेता व्यवसायीलाई पुरस्कार दिने व्यवस्था गर्न कार्यविधि संशोधन गरी प्रस्ताव ल्याउन आन्तरिक राजस्व विभागलाई निर्देशन।

हाल उपभोक्तालाई पाक्षिक रूपमा दैनिक एक लाख र बम्परमा ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिइँदै आएको छ।

साउन १ देखि असोज १५ सम्म ७४ जनाले जनही एक लाख र पाँच जनाले बम्परमा ७ लाख ५० हजार रुपैयाँ जितिसकेका छन्।

बिल लिने र दिने संस्कार विकास गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगद पुरस्कार दिँदै आएको छ। उक्त कार्यक्रमबाट बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परेको देखिएपछि विक्रेतालाई पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याइएको हो।

बिल लिने संस्कार विकास भए पनि व्यवसायीले बिल जारी गर्न हिचकिचाएको गुनासो आएको भन्दै अर्थमन्त्री वाग्लेले विक्रेतालाई समेत प्रोत्साहन गर्नुपर्ने बताए।‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,’ उनले भने, ‘कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्। कति रकम कसरी दिन सकिन्छ, जसले गर्दा उहाँहरूलाई पनि बिल जारी गर्न झन्झट नहोस्।’

साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा प्रत्येक १५ दिनमा पुरस्कार घोषणा हुँदै आएको छ। यसअन्तर्गत दैनिक एक जनालाई कर कट्टीअघि १ लाख ३४ हजार रुपैयाँ र बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिन्छ। आकस्मिक लाभकर कट्टीपछि दैनिक विजेताले एक लाख र बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन्।

साउन १ देखि असोज १५ गतेसम्म पाँच चरणमा पुरस्कार घोषणा गरी वितरण गरिसकिएको छ। यस अवधिमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कारबापत जनही ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

विभागले समयमै कार्यविधि संशोधन गरेमा असोज १६ देखि मसान्तसम्मको दोस्रो पाक्षिक पुरस्कार घोषणामा विक्रेता व्यवसायीलाई पनि समेट्न सकिनेछ। यद्यपि, व्यवसायीलाई प्रदान गरिने पुरस्कार रकम उपभोक्ताको भन्दा कम हुने भए पनि कति रकम दिने भन्ने निर्णय भइसकेको छैन।

करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ। अनलाइनमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः पुरस्कारका लागि योग्य हुने व्यवस्था छ। नगदमा कारोबार गरी बिल लिने उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता पुरस्कार पोर्टलमा उपलब्ध लिङ्कमार्फत बिल अपलोड गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images