२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

हिमपातले कोरला नाका ठप्प

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला नाका ठप्प

उपल्लो मुस्ताङका बस्तीमा बाक्लो हिमपात, तल्लो क्षेत्रमा अविरल वर्षा र पहिरो; पर्यटक तथा ढुवानीका सवारीलाई आवागमनमा रोक

शनिवार , कार्तिक १४, २०८३

 

NepalSays/ मुस्ताङ — चक्रवात ‘अर्नब’को प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका ठप्प भएको छ भने वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि जोमसोम–कोरला सडकखण्डसमेत अवरुद्ध भएको छ।

सम्पादकीय सारांश

Verified

चक्रवात ‘अर्नब’को प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात।

कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको।

हिमपात र पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध।

पर्यटक, कन्टेनर चालक तथा स्थानीयलाई सतर्कता अपनाउन प्रशासनको आग्रह।

मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार रोक्न अनुरोध।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो। त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ।

भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ। न्हेचुङबाट कोरला नाका जाने तथा न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ।

मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताउनुभयो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताउनुभयो। उहाँका अनुसार कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो। उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवनसमेत प्रभावित भएको छ।

यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले राष्ट्रिय समाचार समिति (रासस)लाई जानकारी दिनुभयो।

— नेपालसेज | प्रकाशित: २०८३ कात्तिक १४ गते, शुक्रबार

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images