चार दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी र मराठी चलचित्रमा प्रभावशाली योगदान ।
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन ।
गोवास्थित निवासमा हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरे ।
बिहान करिब ५ः२० बजे उनको निधन भएको पुष्टि ।
चार दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी र मराठी चलचित्रमा प्रभावशाली योगदान ।
‘परिन्दा’, ‘क्रान्तिवीर’ र ‘अग्निसाक्षी’का लागि राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित ।
काठमाडाैं । बलिउडका चर्चित अभिनेता नाना पाटेकर (Vishwanath Patekar)को ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । गोवाको डोना पाउलास्थित निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । उनलाई बिहान करिब ५ः२० बजे मृत घोषित गरिएको थियो ।
उनका छोरा मल्हार पाटेकरले पनि उनको निधनको पुष्टि गरेका छन् । घटनापछि मेडिकल–लिगल केस दर्ता गरिएको र मृत्युको थप कारण यकिन गर्न पोस्टमार्टम गरिने जनाइएको छ ।
काे हुन् नाना पाटेकर ?
नाना पाटेकरले हिन्दी र मराठी चलचित्रमा चार दशकभन्दा लामो समय काम गरेका थिए । अभिनयसँगै उनले लेखन र निर्देशनमा समेत आफ्नो पहिचान बनाएका थिए । चलचित्र तथा कलाक्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।
उनले सन् १९७८ मा मुजफ्फर अली निर्देशित ‘गमन’ बाट हिन्दी चलचित्रमा डेब्यु गरेका थिए । त्यसपछि ‘आज की आवाज’, ‘अंकुश’, ‘प्रतिघात’, ‘अन्धा युद्ध’, ‘मोहरें’ र ‘सलाम बम्बे’ लगायतका चलचित्रमा अभिनय गरे ।
सन् १९८९ मा प्रदर्शनमा आएको विधु विनोद चोपडाको ‘परिन्दा’ उनको करिअरको महत्वपूर्ण मोड मानिन्छ । उक्त चलचित्रमा उनले निर्वाह गरेको ‘अन्ना’ पात्रका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार जितेका थिए ।
नाना पाटेकरले ‘प्रहार : द फाइनल अट्याक’ बाट निर्देशनमा पनि डेब्यु गरेका थिए । त्यसपछि ‘राजु बन गया जेन्टलम्यान’, ‘अंगार’ र ‘तिरंगा’ लगायतका चलचित्रमा अभिनय गरे । ‘अंगार’मा निभाएको भूमिकाका लागि उनले फिल्मफेयरको उत्कृष्ट खलनायक पुरस्कार पाए ।
सन् १९९४ को ‘क्रान्तिवीर’ मा प्रताप नारायण तिलकको भूमिका निर्वाह गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । उक्त भूमिकाका लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाए । त्यसैगरी ‘अग्निसाक्षी’मा गरेको अभिनयका लागि उनले उत्कृष्ट सहायक अभिनेताको दोस्रो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए ।
चार दशकभन्दा लामो करिअरमा नाना पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘तिरंगा’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए ।
उनको पछिल्लो चलचित्र ‘सुबेदार’ हो । सन् २०२६ मा प्राइम भिडियोमा रिलिज भएको उक्त चलचित्रमा अनिल कपुर र राधिका मदान पनि मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस