बागलुङको कुँडुलेमा पहेँलपुर धान, भारी वर्षाले उत्पादन घट्ने चिन्ता
बागलुङ नगरपालिका–५ कुँडुले फेदीका खेतमा धान पहेँलपुर बनेको छ। तिहारलगत्तै धान भित्र्याउने तयारीमा रहेका किसान भारी वर्षाको पूर्वानुमान र धानमा लागेको ढुसीका कारण उत्पादन घट्ने चिन्तामा छन्।
नेपालसेज/ बागलुङ। बागलुङ नगरपालिका–५ स्थित कुँडुले फेदी यतिबेला पहेँलपुर धानले आकर्षक बनेको छ। खेतभरि झुलेका धानका बालाले गाउँको सुन्दरता बढाएका छन्। जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन्न भण्डारण क्षेत्रका रूपमा परिचित छ। यहाँका खेतमा धान पाक्दै गए पनि मौसम पूर्वानुमान महाशाखाले केही दिन भारी वर्षा हुने चेतावनी दिएपछि किसान चिन्तित बनेका छन्। जिल्लामा धेरै धान उत्पादन हुने क्षेत्रमध्ये कुँडुले पनि एक हो। यहाँका किसानले असारको अन्तिम सातातिर धान रोपाइँ गरेका थिए। यस क्षेत्रमा खुमल–४, खुमल–१०, पोखरेली जेठोबुढो, मार्सी र जडन जातका धान लगाइएको छ। यस वर्ष रोपाइँ ढिला भएकाले धान भित्र्याउने समय पनि पछि धकेलिएको किसानको भनाइ छ।
सम्पादकीय सारांश
Verified
बागलुङमा यस वर्ष ५ हजार ६ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ।
गत वर्ष जिल्लामा २० हजार ७८४ मेट्रिकटन धान उत्पादन।
धानमा ढुसी लाग्दा यस वर्ष उत्पादन घट्न सक्ने किसानको अनुमान।
अहिले खेतमा धानका बाला झुलेका छन्। किसानले तिहारलगत्तै धान भित्र्याउने योजना बनाएका छन्। तर, भारी वर्षाको पूर्वानुमानले पाकिसकेको धानमा क्षति पुग्ने र उत्पादन घट्ने चिन्ता बढाएको छ। किसानहरू अहिले धान खेतमा पलाएका घाँस हटाउनेलगायतका काममा व्यस्त छन्। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार यस वर्ष जिल्लामा ५ हजार ६ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्ष बागलुङमा २० हजार ७८४ मेट्रिकटन धान उत्पादन भएको थियो। जिल्लामा कुल ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा करिब ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। बागलुङमा धानको तुलनामा मकै, कोदो र गहुँ खेती बढी हुने गरेको छ।
यस वर्ष भारी वर्षाका कारण धान उत्पादनमा गिरावट आउन सक्ने किसानको अनुमान छ। धान पसाउन लागेदेखि नै वर्षाका कारण बालामा कालो ढुसी लागेकाले उत्पादन घट्ने जोखिम रहेको उनीहरूको भनाइ छ। अघिल्लो वर्ष जरा कुहिने प्रकोप र यस वर्ष ढुसीको समस्याले धान उत्पादन प्रभावित हुन सक्ने चिन्ता किसानमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस