२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

८० वर्षमा खेतीको जाँगर

८० वर्षमा पनि जाँगर उस्तै, सुपारीखेतीबाट युवालाई उद्यमको सन्देश

१५ वर्षअघि रहरले सुरु गरेको सुपारीखेतीबाट सफल बने गोविन्दबहादुर कार्की

मंगलवार , कार्तिक १७, २०८३

 

सम्पादकीय सारांश

Verified

इनरुवा–४ का ८० वर्षीय गोविन्दबहादुर कार्की सुपारीखेतीमा सक्रिय।

डेढ बिघा क्षेत्रफलमा करिब १ हजार २०० सुपारीका बोट।

१५ वर्षअघि १०० बिरुवा रोपेर सुरु गरेका थिए खेती।

सुपारी बिक्रीबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी।

खेतीमा वार्षिक करिब २० हजार रुपैयाँ खर्च हुने गरेको छ।

 

नेपालसेज, सुनसरी । उमेरले ८० वर्ष पुगे पनि इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको खेतीप्रतिको लगाव र जाँगरमा कुनै कमी आएको छैन। बिहानदेखि बेलुकासम्म उनी आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको व्यवस्थित र आकर्षक सुपारी बगान अहिले आम्दानीको राम्रो स्रोत बनेको छ। लहरै मिलाएर रोपिएका सुपारीका बोट, सफा र व्यवस्थित बगान तथा प्रत्येक बोटको फेदमा लगाइएको सेतो चुनले त्यहाँ पुग्ने जोकोहीको ध्यान आकर्षित गर्छ। पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आएका कार्कीले करिब १५ वर्षअघि रहरले सुरु गरेकाे सुपारीखेती अहिले आम्दानी र खुसीको आधार बनेको छ।

पुख्र्यौली घर तेह्रथुम भए पनि कार्कीको परिवार बसाइँ सरेर सुनसरी आएको थियो। उनले धरानमा प्रवेशिकासम्म अध्ययन गर्नुभएको थियो। खेतीकिसानीमै रमाएका उनलाई न लाहुरे बन्ने रहर लाग्यो, न विदेश जाने सोच आयो। “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन। खेतीकिसानी गरियो, धान, मकै लगाइयो”, उनले भने।

झापाको बिर्तामोड जाँदा त्यहाँ देखेको सुपारीखेतीले उनलाई पनि यसतर्फ आकर्षित गर्‍यो। काकाको सुपारी बगान र अन्य किसानले गरेको खेतीबाट प्रभावित भएर उनले १५ वर्षअघि १०० वटा बिरुवा ल्याएर रोपेका थिए। चार–पाँच वर्षपछि बिरुवाले फल दिन थालेपछि त्यही फलबाट आफैँ बिरुवा उत्पादन गर्दै खेती विस्तार गरे। अहिले उनको डेढ बिघा बगानमा करिब एक हजार २०० सुपारीका बोट छन्।

सुरुमा रोपिएका बोटले हरेक वर्ष फल दिँदै आएका छन् भने पछिल्ला वर्षमा रोपिएका बिरुवा पनि हुर्किरहेका छन्। ती पुराना बोटबाट मात्रै उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै । आगामी एक–दुई वर्षभित्र बगानका अन्य बोटले पनि फल दिन थालेपछि उत्पादन र आम्दानी थप बढ्ने उनको अपेक्षा छ।

उनले हरेक वर्ष व्यापारी आफैँ बगानमा आएर सुपारीखेती ठेक्कामा लिने गरेकाे बताए। 'सुपारी पाकेपछि उनीहरू नै आएर टिपेर लैजान्छन्। कहिलेकाहीँ साना व्यापारी खुद्रा खरिदका लागि आउँदा  प्रतिकिलो ७० रुपैयाँका दरले पनि बिक्री हुन्छ', उनले भने ' अधिकांश व्यापारी झापाको दमकबाट आउँछन् ।'

सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ। वर्षमा एकपटक मल लगाउनुपर्ने र बोटको फेदमा चुन लगाउँदा कमिला तथा किराको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन्। उनकाअनुसार  चुन, मललगायतका सामग्रीमा वार्षिक करिब २० हजार रुपैयाँ खर्च हुने गरेको छ।

धान र मकैखेतीको तुलनामा सुपारीखेतीबाट राम्रो आम्दानी हुने कार्कीको अनुभव छ। “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि एक लाख रुपैयाँ आम्दानी गर्न सकिँदैन। सुपारीखेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उनले भने। खेतीबाट हुने आम्दानी र तुलनात्मक रूपमा कम मेहनतका कारण आफू यस व्यवसायबाट सन्तुष्ट रहेको उनको भनाइ छ।

बगानको रेखदेखका लागि उनले तलब दिएर एक जना कामदार राखेका छन्। सुपारीखेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए । व्यावसायिक खेती गर्न चाहने युवालाई सुपारीखेतीतर्फ आकर्षित हुन उनको सुझाव छ।

“व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ। धेरै मेहनत पनि गर्नुपर्दैन”, उनले भने। कार्कीका लागि सुपारीखेती आम्दानीको माध्यम मात्र बनेको छैन, दिन बिताउने र खुसी प्राप्त गर्ने आधारसमेत बनेको छ। ८० वर्षको उमेरमा पनि बगानमा काम गर्दा आफूलाई आनन्द आउने उनी बताउँछन्। “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उनले भने।

— नेपालसेज | प्रकाशित: १७ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images