२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

मेवाखेतीबाट बढ्दै आम्दानी

३० हजार मेवाका बोटबाट उत्पादन, पदमपोखरीका १०० भन्दा बढी किसान व्यावसायिक खेतीमा

पदमपोखरीमा सात वर्षदेखि विस्तार भइरहेको व्यावसायिक मेवाखेतीमा १०० भन्दा बढी किसान आबद्ध छन्

आइतवार , कार्तिक १५, २०८३

 

 

सम्पादकीय सारांश

Verified

पदमपोखरीका १०० भन्दा बढी किसान व्यावसायिक मेवाखेतीमा आबद्ध।

क्षेत्रमा करिब ३० हजार मेवाका बोटबाट उत्पादन।

गत वर्ष पाँच लाख किलोग्राम मेवा बिक्री।

उत्पादित मेवा वीरगञ्ज, काठमाडौं र पोखरासम्म पुग्ने।

उपमहानगरपालिकाले कृषि प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्दै।

नेपालसेज/ बागमती — हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीतर्फ आकर्षित हुँदै गएका छन्। मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका हुन्। सात वर्षअघि सुरु भएको व्यावसायिक मेवाखेती अहिले विस्तार हुँदै जाँदा पदमपोखरी फलफूलखेतीको उदीयमान क्षेत्रका रूपमा विकास भइरहेको छ।

आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाका अनुसार पदमपोखरी क्षेत्रमा हाल करिब ३० हजार मेवाका बोटबाट उत्पादन भइरहेको छ। यहाँका किसानले व्यक्तिगत तथा सामूहिक रूपमा मेवाखेती विस्तार गर्दै आएका छन्। सुन्तलीमाया वाइबाले मात्रै ३० कठ्ठा क्षेत्रफलमा व्यावसायिक मेवाखेती गर्नुभएको छ।

मेवाखेतीबाट उत्पादित उपजको बजारसमेत विस्तार हुँदै गएको छ। अघिल्लो वर्ष पदमपोखरीबाट पाँच लाख किलोग्राम मेवा बिक्री भएको थियो। किसानका अनुसार उत्पादित मेवा बिक्री गर्न खासै समस्या छैन। व्यापारीहरू नै किसानको बारीमा पुगेर मेवा खरिद गर्न थालेका छन्।

पदमपोखरीमा उत्पादन भएको मेवा विशेषगरी वीरगञ्ज, काठमाडौं र पोखरालगायत प्रमुख सहरमा बिक्रीका लागि पुग्ने गरेको छ। ठूलोथलीलगायत क्षेत्रका किसानले समेत व्यावसायिक रूपमा मेवाखेती विस्तार गरेका छन्। स्थानीय उत्पादनले बजार पाउन थालेपछि थप किसान यस व्यवसायमा आकर्षित भएका छन्।

ठूलोथलीकी किसान रञ्जुमाया घलानले आफ्नो फार्ममा ५५० वटा मेवाका बोट लगाउनुभएको छ। उहाँले अघिल्लो वर्ष मात्रै तीन लाख रुपैयाँ बराबरको मेवा बिक्री गर्नुभएको थियो। मेवाखेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि आफू यस व्यवसायमा लागेको उहाँले बताउनुभयो।

तर, मेवाखेतीमा केही प्राविधिक समस्या पनि देखिन थालेका छन्। मेवाका पात कुहिने र फल झर्ने समस्या देखिएको किसान घलानले बताउनुभयो। यस्तो समस्या समाधानका लागि प्राविधिकको सल्लाह लिने गरिएको उहाँको भनाइ छ।

हेटौँडा उपमहानगरपालिकाले पनि व्यावसायिक फलफूल तथा तरकारीखेती विस्तारका लागि किसानलाई प्रोत्साहन गर्नुका साथै बजारीकरणमा सहयोग गर्दै आएको नगर प्रमुख मीना लामाले बताउनुभयो। स्थानीय उत्पादनलाई किसानबाट सीधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले दसैँअघि ‘आलीदेखि थालीसम्म’ नारासहित कृषि मेला आयोजना गरिएको थियो। मेलामा उपमहानगरपालिकाभित्र उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री गरिएको थियो।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने र कृषिमा आत्मनिर्भरता बढाउने योजनालाई प्राथमिकता दिइएको छ। परम्परागत खेतीसँगै आधुनिक फलफूलखेती प्रवर्द्धन गर्ने तथा कृषक समूह र सहकारीमार्फत व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरपालिकाले लिएको छ।

पदमपोखरीमा व्यावसायिक मेवाखेती विस्तारसँगै स्थानीय रोजगारी र अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। स्थानीय अटोचालक दीपक लामाका अनुसार पछिल्लो समय पदमपोखरी क्षेत्रमा करिब २०० वटा अटो सञ्चालनमा छन्। कृषि उपजको ओसारपसार तथा स्थानीयको आवतजावत बढ्दा अटो व्यवसायले समेत लाभ लिएको उहाँले बताउनुभयो।

— नेपालसेज | प्रकाशित: १४ कात्तिक २०८३

 
 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images