२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

बुधवार , भाद्र १०, २०८३

NepalSays/ काठमाडौं — चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीको बैठकले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो। रास्वपाले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन आग्रह गरिएको छ। पार्टीले संकटको यो घडीमा राज्य संयन्त्रलाई सहयोग गर्नु सबैको साझा राष्ट्रिय दायित्व भएको जनाएको छ।

सम्पादकीय सारांश

Verified

रास्वपाले विपद् प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने।

बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना।

प्रभावित नागरिकको तत्काल उद्धार र राहतलाई प्राथमिकता दिन आग्रह।

पार्टीका सबै सांगठनिक तथा राजनीतिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित।

उद्धार तथा राहतमा पार्टीका स्थानीय संरचना र स्वयंसेवक परिचालन गर्ने निर्णय।

रास्वपाले विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धारसँगै सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्नलगायत राहत सामग्रीको अविलम्ब व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। यसका लागि पार्टीका तर्फबाट रु. ५० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा मानवीय सहयोग जुटाउन पार्टीले सबै नागरिकलाई समेत अपिल गरेको छ। सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारले एकद्वार प्रणालीमार्फत काम गर्नुपर्ने रास्वपाको भनाइ छ।

विपद्को समयमा पार्टीका स्थानीय संरचनालाई सक्रिय बनाउँदै केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका पार्टी समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार र राहतमा खटिन निर्देशन दिइएको छ। यसका लागि पार्टीको र्‍यापिड एक्सन टिम (R.A.T.) मार्फत स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। टिमको संयोजनको जिम्मेवारी पूर्वच्याट संयोजक आशिष थापालाई दिइएको पार्टीले जनाएको छ। रास्वपाले विपद् प्रभावित नागरिकको सहयोगमा आफ्नो संगठनात्मक संयन्त्रलाई पूर्ण रूपमा परिचालन गर्ने जनाएको छ।

त्यस्तै, विपद्को समयमा फैलिन सक्ने भ्रामक सूचना र अफवाहले जनमानसमा थप त्रास र अन्योल सिर्जना गर्न सक्ने भन्दै रास्वपाले आधिकारिक सरकारी निकायबाट जारी सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न तथा नदी तटीय र पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन पार्टीले अपिल गरेको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिन र प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले विपद्का कारण घरबारविहीन भएका पीडित परिवारलाई उचित क्षतिपूर्ति, सम्मान र दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्ययोजना तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ। साथै, विपद्को संवेदनशील समयमा आफ्नो सम्पूर्ण ध्यान उद्धार, राहत र विपद् व्यवस्थापनमा केन्द्रित गर्नुपर्ने भन्दै पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको छ। प्राकृतिक विपद्को कठिन घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सम्पूर्ण सरोकारवालासँग हातेमालो गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता रास्वपाले व्यक्त गरेको छ।
788439163_1113062054568411_335696369413072559_n.png.jpeg785363036_1370305765315788_1093252265650878883_n.png.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images