२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

उत्तरी नाका बन्द

रसुवागढी, तातोपानी र कोरला नाका बन्द हुँदा चीनसँगको स्थल व्यापार प्रभावित

बाढीपहिरोका कारण रसुवागढी, तातोपानी र कोरला नाका प्रभावित भएपछि चाडपर्वको मुखमा चीनबाट हुने आयात ठप्प हुँदा बजारमा महँगी बढ्ने जोखिम देखिएको छ।

बिहिवार , आश्विन २२, २०८३

नेपालसेज/ काठमाडौँ।
बाढीपहिरोका कारण नेपाल–चीन जोड्ने तीन प्रमुख उत्तरी नाकाबाट हुने व्यापार प्रभावित भएको छ। चाडपर्वको मुखमा आयातका लागि प्रयोग हुने सडक अवरुद्ध भएपछि चीनसँगको स्थल व्यापार ठप्पजस्तै बनेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहितका संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको थियो। त्यसपछि पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात–निर्यात रोकेको थियो।

सम्पादकीय सारांश

Verified

बाढीपहिरोका कारण नेपाल–चीनका तीन प्रमुख उत्तरी नाकाबाट हुने व्यापार प्रभावित भएको छ।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यापारीले कोरला नाका प्रयोग गर्न थालेका थिए।

बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि कोरला नाकाबाट पनि आयात–निर्यात रोकिएको छ।

कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब २०० कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै रोकिएका छन्।

आयात ढुवानी लागत बढ्दा चाडपर्व र जाडोका सामानको मूल्य बढ्ने जोखिम रहेको व्यवसायीले बताएका छन्।

काठमाडौँबाट तुलनात्मक रूपमा नजिक पर्ने रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए। तर असोज ९ देखि ११ गतेसम्मको भारी वर्षाका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेपछि कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ। कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब २०० कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै रोकिएका छन्। चीनतर्फका नाका बन्द हुँदा तीज, दसैँ–तिहार तथा जाडोका कपडा लगायतका सामानको आयातमा असर परेको व्यवसायीले बताएका छन्। चीनबाट आयात व्यापारमा संलग्न एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले बजारमा आउनुपर्ने सामान आउन नसक्दा महँगीको अवस्था सिर्जना भएको बताए।

आचार्यका अनुसार वैकल्पिक नाका प्रयोग गर्नुपर्दा ढुवानी लागत निकै बढेको छ। नियमित रूपमा ७५ हजार रुपैयाँ पर्ने गाडी भाडा विभिन्न नाका हुँदै सामान ल्याउँदा ५ लाख रुपैयाँसम्म पुगेको उनले बताए। लामो समय लगाएर ल्याइएको सामानमा लगानी र ब्याजसमेत जोडिने भएकाले त्यसको प्रभाव बजार मूल्यमा पर्ने उनको भनाइ छ। तीज र दसैँलाई लक्षित गरेर गरिएको लगानीसमेत प्रभावित भएको व्यवसायीले बताएका छन्। अहिले जाडोका सामान आयात गर्ने समय भए पनि उत्तरी नाका बन्द हुँदा जाडोका कपडाको अभाव हुन सक्ने उनीहरूको भनाइ छ। नाका बन्द हुँदा व्यवसायी मात्र नभई राज्यलाई समेत आर्थिक क्षति हुने भएकाले सरकारले नाका खुलाउन सक्रिय पहल र कूटनीतिक प्रयास गर्नुपर्ने माग व्यवसायीले गरेका छन्।

अर्का व्यवसायी राजकुमार श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्ष सामानको आयात र व्यापार दुवै कम भएको बताए। नियमित आयात हुने नाका बन्द हुँदा वैकल्पिक नाका प्रयोग गर्नुपरेको र त्यसले यातायात खर्च बढाएर सामान महँगो भएको उनको भनाइ छ।

नेपालमा तयारी पोसाकको ठूलो हिस्सा चीनबाट आयात हुने गरेको छ। विद्युतीय सवारीसहित अन्य विभिन्न सामानको आयातमा पनि चीन प्रमुख स्रोतका रूपमा रहेको छ। उत्तरी नाका लामो समय बन्द रहँदा दसैँको मुखमा अत्यावश्यक तथा उपभोग्य सामानका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था बढ्न सक्ने र वैकल्पिक स्रोतबाट आयात गर्दा बजार मूल्य थप बढ्न सक्ने व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images