२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

टेम्केमैयुङमा विद्युतीय चुलो वितरण

भोजपुरको टेम्केमैयुङमा ५०० विद्युतीय चुलो वितरण, ग्यास र दाउराको प्रयोग घटाउने लक्ष्य

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदान र स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा पहिलो चरणमा ५०० वटा विद्युतीय चुलो वितरण गरेको छ।

बिहिवार , कार्तिक १२, २०८३

नेपालसेज/ भोजपुर।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउने उद्देश्यले स्थानीयवासीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ। परम्परागत रूपमा दाउरा तथा खाना पकाउने ग्यास प्रयोग गर्दै आएका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदान र स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा पहिलो चरणमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो।

सम्पादकीय सारांश

Verified

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाद्वारा ५०० विद्युतीय चुलो वितरण।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७० प्रतिशत अनुदान।

स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा चुलो वितरण।

खाना पकाउने ग्यास र दाउराको प्रयोग घटाउने लक्ष्य।

धुवाँजन्य प्रदूषण कम गर्दै स्वच्छ ऊर्जाको प्रयोग बढाउने उद्देश्य।

अध्यक्ष बस्नेतका अनुसार विद्युतीय चुलोको प्रयोग बढाएर आयातीत खाना पकाउने ग्यासको खपत घटाउने, दाउराको प्रयोग न्यूनीकरण गर्ने र खाना पकाउन लाग्ने समय बचत गर्ने उद्देश्य राखिएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। गाउँपालिका उपाध्यक्ष रमादेवी राईले विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने बताउनुभयो। यसबाट घरभित्रको वायु प्रदूषण घट्नुका साथै खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ।

गाउँपालिकाका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् र आवश्यक MCB जडान भएका परिवारलाई मात्रै विद्युतीय चुलो वितरण गर्ने व्यवस्था गरिएको छ। सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयवासीलाई चुलो उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार हुँदै गएको अवस्थामा विद्युतीय उपकरणको प्रयोग बढाएर स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने गाउँपालिकाको विश्वास छ। विद्युतीय चुलोको प्रयोग विस्तारसँगै दाउरा र आयातीत खाना पकाउने ग्यासमाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images