गर्भावस्था जाँच तथा सुत्केरीपछिको स्वास्थ्य सेवाबाट प्राप्त विवरणका आधारमा घरभेट कार्यक्रम सञ्चालन
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आन्तरिक स्रोतबाट सुत्केरीका घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्ने भए पनि सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यताका कारण उत्तरप्रसूतिस्याहारमा चुनौती देखिएपछि महानगरपालिकाले आन्तरिक स्रोतबाटै यो सेवा सुरु गर्न लागेको हो। कार्यक्रमलाई ‘उत्तरप्रसूतिस्याहार (पीएनसी) घरभेट कार्यक्रम’ नाम दिइएको छ।
काठमाडौं महानगरले सुत्केरीको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्ने भएको छ।
सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुग्नेछन्।
स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परे अस्पतालमा थप उपचारका लागि पठाइनेछ।
घरभेटमार्फत स्वास्थ्य परीक्षणसँगै सुत्केरी आमा र नवजात शिशुको स्याहार तथा परामर्श दिइनेछ।
कार्यक्रम सञ्चालनका लागि महानगरले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकेको छ।
अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने मात्र पर्याप्त नहुने भन्दै सुत्केरीपछिका केही दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने महानगरले जनाएको छ। कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन्।
सुत्केरीपछिको अवस्थामा आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचापलगायतका समस्या देखिन सक्छन्। नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता आउन सक्ने भएकाले त्यस्ता समस्या समयमै पहिचान गरी स्वास्थ्य जोखिम घटाउनु कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ। घरभेटका क्रममा स्वास्थ्यकर्मीले स्वास्थ्य समस्या पहिचान गरी आवश्यकताअनुसार व्यवस्थापन गर्नेछन्। थप उपचार आवश्यक देखिएमा सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थामा पठाउने व्यवस्था पनि गरिनेछ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण पाउने दर ७० प्रतिशत छ। स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यस्तो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ।
काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा १ दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए। आर्थिक वर्ष २०८१/८२ मा यो दर बढेर ११ दशमलव १८ प्रतिशत पुगेको थियो। तर आर्थिक वर्ष २०८२/८३ मा भने घटेर ४ दशमलव ७१ प्रतिशतमा झरेको थियो।
घटेको दरलाई बढाउँदै उत्तरप्रसूति अवस्थामा महिला र नवजात शिशुमा देखिने जटिलता कम गर्न कार्यक्रम अघि बढाइएको कार्यक्रमकी फोकल पर्सन तथा सिनियर अ.न.मी. निरीक्षक चन्द्रा भट्टले जानकारी दिइन् । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीको अभिमुखीकरणसमेत सम्पन्न गरिएको छ। स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई समूहमा विभाजन गरी घरभेट कार्यक्रमको विधि, गर्नुपर्ने कामलगायत विषयमा जानकारी दिइएको छ।
‘सहरी क्षेत्रमा स्वास्थ्य संस्था नजिकै हुन्छन्। तर परिवारमा सहयोग गर्ने सदस्यको अभाव, काममा फर्किनुपर्ने अवस्था, घरायसी जिम्मेवारी तथा ‘अस्पतालबाट डिस्चार्ज भएपछि समस्या छैन’ भन्ने बुझाइका कारण पनि उत्तरप्रसूति जाँच छुट्न सक्छ,’ स्वास्थ्य कार्यालय काठमाडौंकी वरिष्ठ जनस्वास्थ्य नर्सिङ निरीक्षक अम्बिका पाण्डेले भनिन्, ‘यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैँ घरमा पुग्ने प्रणालीले सेवा नलिएका परिवार पहिचान गर्न सहयोग पुग्छ। यो महानगरपालिकाले सञ्चालन गर्ने कार्यक्रममध्ये महत्वपूर्ण कार्यक्रम हो।’
महानगरले कार्यक्रमलाई स्वास्थ्य परीक्षणमा मात्र सीमित नगरी सुत्केरी आमा र नवजात शिशुको स्याहार, स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक जानकारीसमेत दिने तयारी गरेको छ। घरभेटका क्रममा प्रयोग गरिने चेकलिस्टमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा सुत्केरी परामर्शलाई समेटिएको छ।
सूक्ष्म योजना र स्वास्थ्य संस्थागत तथ्यांकका आधारमा कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ। समय, स्वास्थ्य संस्था र बस्तीबीचको पहुँच, उपलब्ध जनशक्ति तथा मातृ–नवजात स्वास्थ्य सेवाको अवस्थालाई कार्यक्रम सञ्चालनका आधार बनाइनेछ। नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु प्रतिलाख जीवित जन्ममा ७० र नवजात शिशु मृत्यु दर प्रतिहजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ। राष्ट्रिय जनगणना २०७८ (२०२१) अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा १५१ जना आमाले गर्भावस्था तथा प्रसूतिसँग सम्बन्धित कारणले ज्यान गुमाउने गरेका छन् भने ६१५ जनाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस