उपचारपछि स्थानीय अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतको दाबी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो।
देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचार सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।
पछिल्लो समय स्वास्थ्य उपचारका क्रममा हङकङमा रहेका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सार्वजनिक स्थानमा हिँडडुल गरिरहेको भिडियो बेलाबेला सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन्।
देउवा ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। उपचारकै सिलसिलामा उनी हाल हङकङमा बस्दै आएका छन्।
यद्यपि, उनी नेपाल कहिले फर्किने भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया दिनुहोस