भारी वर्षापछि अर्माखोलामा आएको बाढीले सानीभेरी गाउँपालिका–१० मा घर, पसल, गोठ, पशुचौपाया र पानी घट्टमा क्षति पुर्याएको छ।
नेपालसेज/ रुकुम पश्चिम
सानीभेरी गाउँपालिका–१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले घर, पसल, गोठ तथा पशुचौपायामा ठूलो क्षति पुर्याएको छ।
अर्माखोलामा आएको बाढीले सानीभेरी–१० मा एउटा घर बगाएको छ।
बाढीले दुई किराना पसल र एउटा गोठमा समेत क्षति पुर्याएको छ।
बाढीमा १० वटा पानी घट्ट र विभिन्न पशुचौपाया बगेका छन्।
घर बग्दा सुन, नगद, अन्नपात र घरायसी सामानमा समेत क्षति पुगेको छ।
घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ। बाढीका कारण स्थानीयवासीको घरायसी तथा कृषि सामग्रीमा समेत क्षति पुगेको छ।
राति करिब साढे ८ बजेपछि परेको भारी वर्षासँगै बाढी आएको थियो। बाढीको जोखिम थाहा पाएपछि उज्वन खड्काको परिवार घर छाडेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
बाढीले खड्काको घरसँगै एक तोला सुनका गरगहना, १० हजार रुपैयाँ नगद, भाँडावर्तन तथा अन्नपात बगाएको छ। एउटा भैंसी र १० वटा भेडाबाख्रा पनि बाढीमा बगेका छन्।
त्यस्तै, स्थानीय खड्कबहादुर खड्का र बमबहादुर विकका किराना पसल तथा गंगाराम खड्काको गोठमा क्षति पुगेको छ। गोठमा रहेका तीन भैंसी तथा पञ्चराम डाँगीका दुई गोरु पनि बाढीले बगाएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले भारी वर्षापछि आएको बाढीबाट क्षति भएको जानकारी प्राप्त भएको र घटनास्थलमा प्रहरी टोली पठाइएको बताएका छन्। प्रारम्भिक जानकारीअनुसार घटनामा मानवीय क्षति भएको छैन।
प्रतिक्रिया दिनुहोस