स्थानीय तह निर्वाचनका लागि सात सदस्यीय उम्मेदवार छनोट समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट समितिमा सात जनालाई मनोनयन गरेको हो। समितिमा मिलन लिम्बू, हरि ढकाल, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी रहेका छन्। समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने निर्णयसमेत गरिएको छ। समितिकाे संयाेजक महामन्त्री विपिनकुमार आचार्य छन्।
रास्वपाले सात सदस्यीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
समितिमा मिलन लिम्बूसहित सात जना छन्।
पार्टीका केन्द्रीय विभागका प्रमुख–उपप्रमुख तोकिएका छन्।
‘हामी सुन्छौँ’ अभियानमा ७७ जिल्लाका ७५३ पालिकाबाट सुझाव लिइनेछ।
मधेशको अडिट प्रतिवेदन अध्ययन र केन्द्रीय कार्यालयका लागि जग्गा/घर खोज्ने निर्णय भएको छ।
बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुख र उपप्रमुख पनि तोकेको छ। प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रविना आचार्यलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार साह र आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाललाई प्रमुखको जिम्मेवारी दिइएको छ।
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बढाथोकी पनि मनोनित भएका छन्।
बैठकले ‘हामी सुन्छौँ’ अभियानअन्तर्गत असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूलाई ७७ वटै जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गर्न निर्देशन दिएको छ। रास्वपाले यसअघि पनि संगठनात्मक तथा जनसम्पर्क गतिविधि अघि बढाउने निर्णय गरेको थियो।
मधेश प्रदेश संगठनको कार्यसम्पादन अडिटसम्बन्धी प्रतिवेदन सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरेपछि आवश्यक कदम चाल्ने बैठकले जनाएको छ।
त्यस्तै, पार्टीको केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र जग्गा वा घर भाडामा लिन उपयुक्त स्थान खोज्न पार्टी सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले नेपालीहरूको महान् चाड दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस