'जनमत पाएपछि रास्वपाको लक्ष्य बदलियो, तर अपेक्षाअनुसार काम गर्न सकेन'
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले रास्वपा दीर्घकालीन राजनीतिक लक्ष्यसहित नभई कांग्रेस र एमालेलाई सुधार्ने उद्देश्यले आवधिक पार्टीका रूपमा गठन गरिएको दाबी गरेका छन्। सोमबार ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले सुरुवाती चरणमा रास्वपाको उद्देश्य कांग्रेस र एमालेलाई सुधार्दै उनीहरूसँगै देश निर्माणको अभियानमा अघि बढ्ने रहेको बताए।
रास्वपा आवधिक पार्टीका रूपमा गठन भएको ढकालको दाबी।
कांग्रेस–एमाले सुधार्ने उद्देश्यले पार्टी खोलिएको भनाइ।
फागुन २१ पछि जनमत पाएसँगै लक्ष्य परिवर्तन भएको टिप्पणी।
अनुभवको कमीका कारण सरकार प्रभावकारी हुन नसकेको आरोप।
सरकारलाई खबरदारी गर्न जनस्तरबाट निरन्तर दबाब आवश्यक।
ढकालले भने, ‘घण्टी बजाएर कांग्रेस र एमाले सुधार्ने र कांग्रेस–एमालेसँग नै विचार छ, देश उहाँहरूले नै बनाउने हो भनेर हामीले पार्टी गठन गरेका थियौँ।’
फागुन २१ पछि जनताले रास्वपालाई ठूलो जनमतसहित सरकारमा पुर्याएपछि पार्टीको लक्ष्य परिवर्तन भएको उनको भनाइ छ। जनताको मतको सम्मान गर्दै सरकारमा पुगे पनि रास्वपाले जनअपेक्षाअनुसार काम गर्न नसकेको उनले बताए। सरकारमा सहभागी नेताहरूको अनुभवको कमीका कारण यसअघिका सरकारभन्दा फरक ढंगले काम गर्न नसकिएको ढकालको टिप्पणी छ।
जेनजी आन्दोलनका बेला सडकमा देखिएको युवा शक्ति र अहिले सरकारमा रहेको शक्तिबीच फरक रहेको पनि उनले बताए। जेनजी आन्दोलनको सुरुवाती उद्देश्य पुराना राजनीतिक शक्तिलाई सुधार्ने भए पनि परिस्थितिले पुराना शक्तिहरूलाई नै कमजोर बनाउने अवस्था सिर्जना गरेको उनको तर्क छ।
सरकारलाई सही दिशामा अघि बढाउन जनस्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको ढकालले बताए।
प्रतिक्रिया दिनुहोस