कांग्रेस उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई पार्टीको आत्मसमीक्षा र पुनर्जागरणको अवसर बनाउनुपर्ने बताएकी छन्।
नेपालसेज/काठमाडौँ
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई पद बाँडफाँटको थलो नभई आत्मसमीक्षा र पुनर्जागरणको अवसर बनाउनुपर्ने बताएकी छन्। उनले महाधिवेशनबाट कांग्रेसले आफ्नो वर्तमान अवस्था र भविष्यको दिशाबारे गम्भीर संवाद गर्नुपर्नेमा जोड दिएकी छन्।महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतान्त्रिक विचारमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने बताइन्। पार्टीले अहिले सामना गरिरहेका चुनौती र जनतामा रहेको अपेक्षालाई सम्बोधन गर्ने गरी महाधिवेशन अघि बढ्नुपर्ने उनको भनाइ छ।
भुसालले महाधिवेशनपछि कांग्रेसका नेता तथा कार्यकर्ता जनताबीच पुग्न तयार हुनुपर्ने बताइन्। उनले नेता–कार्यकर्तालाई लक्षित गर्दै, “महाधिवेशनबाट गइसकेपछि जनविश्वास बढाउन गाउँ–गाउँ जान तयार छौँ कि छैनौँ?” भन्दै प्रश्न गरिन्।उनले पार्टीको महाधिवेशन केवल नेतृत्व र पदाधिकारी चयनमा सीमित हुन नहुने बताइन्। कांग्रेसले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने, संगठनलाई सक्रिय बनाउने र नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।
भुसालले कांग्रेसभित्रको लोकतान्त्रिक प्रक्रियालाई अझ समावेशी बनाउनुपर्नेमा पनि जोड दिइन्। पार्टीको आन्तरिक संरचना र निर्णय प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्दै महाधिवेशनले आगामी राजनीतिक दिशाका विषयमा स्पष्ट निर्णय लिनुपर्ने उनको भनाइ छ।
उनका अनुसार १५औँ महाधिवेशन कांग्रेसका लागि आफ्नो कमजोरी पहिचान गर्ने, नयाँ ऊर्जा निर्माण गर्ने र जनतामाझ पुनः विश्वास स्थापित गर्ने अवसर बन्नुपर्छ।
— नेपालसेज | प्रकाशित: १८ असोज २०८३, आइतबार
प्रतिक्रिया दिनुहोस