२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

राष्ट्रपतिको एकताको आह्वान

पुनर्निर्माणसँगै विकास मोडल पुनर्विचार गर्न राष्ट्रपतिको आग्रह

भोटेकोशी बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्धार, राहत, पुनःस्थापना र जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित विपत्तिको समयमा राजनीतिक विवाद र एकअर्कामाथि दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिमा घरबारविहीन, विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई अहिले राज्यको साथ र भरोसा आवश्यक रहेको बताए।राष्ट्रपति पौडेलले भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य निरन्तर जारी राख्न आग्रह गरे। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकको योगदानको पनि उनले प्रशंसा गरे।

सम्पादकीय सारांश

Verified

राष्ट्रपति पौडेलले विपत्तिको समयमा राजनीतिक विवाद र दोषारोपण नगर्न आग्रह गरे।

बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य निरन्तर जारी राख्न सरकारलाई आग्रह गरे।

पीडितलाई खाद्यान्न, खानेपानी, औषधि, सुरक्षित आश्रय र मनोसामाजिक सेवा सुनिश्चित गर्न जोड दिए।

नेपालजस्ता प्रभावित मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

पुनर्निर्माणसँगै नेपालको विकास मोडलमाथि पुनर्विचार गर्नुपर्ने बताए।

उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकको संरक्षणमा विशेष ध्यान दिन उनले आग्रह गरे। अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित हुनुपर्नेमा पनि उनले जोड दिए।

राष्ट्रपति पौडेलले विपत्तिमा परेका नेपालीसँगै नेपालमा रहेका विदेशी नागरिकको खोजी, उद्धार र परिवारसँग सम्पर्क तथा सहजीकरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। उनले कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिलाई खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने स्पष्ट पारे। प्रभावित नागरिकका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा लिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।

बाढीले नेपालको हिमाली पर्यावरणको संवेदनशीलता र बढ्दो विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको राष्ट्रपति पौडेलले बताए। उनले नेपालजस्ता पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र नभई जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

राष्ट्रपति पौडेलले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई विपत्तिको समयमा एकताबद्ध भएर उभिन आग्रह गरे। उनले अहिले विभाजन, राजनीतिक टकराव वा दोषारोपणको समय नभएको भन्दै पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images