वेटरदेखि बाल विकास सहजकर्तासम्मका छ विधामा तालिम सञ्चालन हुने, इच्छुकले कात्तिक मसान्तसम्म आवेदन दिन सक्ने।
नेपालसेज/ पोखरा।
सीप विकासमार्फत रोजगारी सिर्जना तथा स्वरोजगार प्रवर्द्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। महानगरले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार छ विधामा तालिम सञ्चालन गर्न लागेको हो। महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले वेटर/वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्ने जनाएको छ।
पोखरा महानगरपालिकाले १२० जनालाई निःशुल्क सीपमूलक तालिम दिने।
छ विधामा प्रत्येकमा २० जनाका दरले सहभागी छनोट गरिने।
वेटर/वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन हुने।
तालिमको अवधि १६० देखि ३९० घण्टासम्म रहने।
इच्छुक युवा तथा युवतीले कात्तिक मसान्तसम्म आवेदन दिनुपर्ने।
तालिममार्फत युवालाई बजारको मागअनुसार व्यावसायिक सीप प्रदान गरी रोजगारीमा आबद्ध गराउनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने महानगरको लक्ष्य छ। सीप र दक्षताको अभावमा रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सीपमूलक तालिमले व्यक्तिलाई रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउने बताउनुभयो। बजारको मागअनुसारका सीप सिकाएर युवालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्नु तालिमको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो।
“तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सके सहभागीले विभिन्न सेवा क्षेत्रमा रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सक्ने र त्यसले बेरोजगारी न्यूनीकरणमा पनि योगदान पुर्याउनेछ। विगतका वर्षहरूमा सञ्चालित यस्ता तालिम प्रभावकारी बनेका कारण यस वर्ष पनि निरन्तरता दिएका हौँ,” प्रमुख कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो। केन्द्रका अनुसार प्रत्येक विधामा २० जनाका दरले कुल १२० जनालाई तालिममा सहभागी गराइनेछ। तालिमको अवधि विधाअनुसार १६० देखि ३९० घण्टासम्म रहनेछ। बारिस्टा तालिम १६० घण्टा र सहायक ब्युटिसियन तालिम ३६० घण्टाको हुनेछ भने अन्य चार विधाका तालिम ३९० घण्टाका हुनेछन्।
तालिममा सहभागी हुन इच्छुक युवा तथा युवतीले आवश्यक कागजपत्रसहित कात्तिक मसान्तसम्म निवेदन पेस गर्नुपर्नेछ। देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा सञ्चालन हुने तालिमले आतिथ्य सेवा, स्वास्थ्य हेरचाह, सौन्दर्य सेवा तथा बाल विकासलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने महानगरले अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस