'विगतका आधारमा मात्रै व्यक्तिको भविष्यको फैसला गर्नु न्यायोचित होइन'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले व्यक्तिको विगतका घटनालाई मात्रै आधार बनाएर उसको वर्तमान र भविष्यको मूल्याङ्कन गर्नु न्यायोचित नहुने बताएकी छन्। सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विगत परीक्षण हुनुपर्ने भए पनि उसले त्यसपछि गरेको सुधार, व्यवहार र योगदानलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्ने उनको भनाइ छ।
विगतका आधारमा मात्रै भविष्यको फैसला गर्न नहुने।
संसदीय सुनुवाइमा पारदर्शिता र जवाफदेहिता आवश्यक।
आरोप लाग्नु र दोष प्रमाणित हुनु फरक विषय।
व्यक्तिको सुधार र योगदानलाई पनि मूल्याङ्कन गर्नुपर्ने।
सार्वजनिक चासोका नाममा गोपनीयता भङ्ग गर्न नहुने।
संसदीय सुनुवाइ समितिमा दुई जना राजदूतको नाम अस्वीकृत भएको प्रसङ्ग उल्लेख गर्दै धितालले समितिको अधिकार, शक्ति र भूमिकाको प्रभावकारी प्रयोग हुनुपर्ने बताएकी छन्। उनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको योग्यता, आचरण र विश्वसनीयतामाथि प्रश्न उठाउने तथा त्यसको निष्पक्ष परीक्षण गर्ने संसदीय अभ्यासलाई स्वागतयोग्य भनेकी छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै धितालले संसदीय समितिका बैठकमा सञ्चारमाध्यमलाई प्रवेश दिने वा नदिने भन्ने बहसमा आफू सधैँ खुलापनको पक्षमा रहेको उल्लेख गरेकी छन्। प्रतिबन्ध लगाउँदैमा कोही जिम्मेवार नहुने भन्दै उनले पारदर्शिताबाट डराउनुको सट्टा पारदर्शिताभित्रै जिम्मेवार बन्ने संस्कार विकास गर्नुपर्ने बताएकी छन्।
राजदूत नियुक्तिको विषयमा भएको सुनुवाइलाई एउटा पक्षबाट हेर्दा संसदीय समितिको अधिकार प्रयोग भएको देखिए पनि अर्कोतर्फ व्यक्तिको विगतलाई नै उसको सम्पूर्ण जीवनको अन्तिम फैसला बनाउने प्रवृत्तिबारे गम्भीर हुनुपर्ने उनको धारणा छ।
‘वर्षौँअघिका घटनालाई उधिनेर व्यक्तिको सम्पूर्ण जीवनलाई एउटै घटनाको कैदी बनाउनु, त्यसलाई सनसनीपूर्ण ढङ्गले सार्वजनिक गर्नु र त्यसकै आधारमा उसको सम्पूर्ण चरित्रको फैसला सुनाउनु न्यायोचित हुनै सक्दैन,’ उनले लेखेकी छन्।
धितालले सार्वजनिक जिम्मेवारीमा पुग्ने व्यक्तिको विगत परीक्षण गर्नुपर्ने, प्रश्न उठाउनुपर्ने र प्रमाणका आधारमा जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्। तर, आरोप लाग्नु र दोष प्रमाणित हुनु फरक विषय भएको उल्लेख गर्दै उनले व्यक्तिले आफ्नो गल्तीबाट सिकेर जीवनमा गरेको परिवर्तनलाई पनि मूल्याङ्कन गर्नुपर्ने बताएकी छन्।
‘यदि विगतको एउटा घटनाले नै व्यक्तिको सम्पूर्ण भविष्य निर्धारण गर्छ भने सुधारको अर्थ के रहन्छ? पश्चात्तापको मूल्य के रहन्छ?’ उनले प्रश्न गरेकी छन्।
उनले व्यक्तिको विगतको समीक्षा गर्नु र त्यही विगतलाई उसको वर्तमान तथा भविष्यको अन्तिम मापदण्ड बनाउनु फरक विषय भएको उल्लेख गरेकी छन्। कसैको जीवनका केही पानाका आधारमा मात्रै सम्पूर्ण जीवनको फैसला गर्न नमिल्ने उनको तर्क छ।
धितालले आफ्नो धारणा कुनै व्यक्तिको पक्ष वा विपक्षमा नभई न्यायको मापदण्ड र प्रक्रियाबारे केन्द्रित रहेको स्पष्ट पारेकी छन्। आफ्ना मान्छे र अरू व्यक्तिका हकमा न्यायको फरक मापदण्ड अपनाउने प्रवृत्तिबारे प्रश्न गर्दै उनले न्यायको मापदण्ड व्यक्तिअनुसार बदलिन नहुने बताएकी छन्।
सार्वजनिक चासोका नाममा कसैको गोपनीयता भङ्ग गर्ने र निजी जीवनलाई सनसनीको विषय बनाउने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस