नेपाल मौसम विज्ञान विभागले असोज ११ देखि १३ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपालसेज/काठमाडौं
आज गण्डकी र सुदूरपश्चिमसहित मधेस तथा बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
सोमबारदेखि वर्षाको मात्रा घट्दै जाने र मंगलबार अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
भारी वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढाउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आइतबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबार गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेस र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। देशका अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली रहने तथा विभिन्न प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पछिल्लो मौसम प्रणालीका कारण वर्षासँगै केही क्षेत्रमा बाढी, पहिरो तथा भूक्षयको जोखिमसमेत रहेको विभागले जनाएको छ।
विभागका अनुसार हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशमा मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आइतबार दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही हिमाली तथा पहाडी क्षेत्रमा तथा कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिमका धेरै तराई क्षेत्र तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही तराई भूभागमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। आइतबार राति पनि सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागको जनाएको छ।
सोमबार भने देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहे पनि राति तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। मंगलबारदेखि मौसम थप सुधार हुने देखिएको छ। मंगलबार दिउँसो सुदूरपश्चिमसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने भए पनि राति अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
यसैबीच, विभागले सुदूरपश्चिमका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्ता मौसमी घटनाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहत कार्यमा असर पार्न सक्ने विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस