२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

जहाँबाट पनि नागरिकताको प्रतिलिपि

नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला जानुपर्ने बाध्यता हट्यो

गृह मन्त्रालयको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने

बुधवार , कार्तिक ११, २०८३

 

सम्पादकीय सारांश

Verified

 

अन्य जिल्लाबाट पनि नेपाली नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध हुनेछ।

तीन कार्यालयलाई प्रदेशअनुसार फरक–फरक जिल्लाका नागरिकको सेवा दिने जिम्मेवारी तोकिएको छ।

नागरिकताको अभिलेख NIDMIS र CCIMS मा भिडेपछि प्रतिलिपि जारी गरिनेछ।

अभिलेख नमिलेमा वा विवरणमा शङ्का देखिएमा नागरिकता जारी भएको जिल्लामा सम्पर्क गर्नुपर्नेछ।

नेपालसेज/ काठमाडौं — काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नेपाली नागरिकले अब तोकिएका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको शासकीय सुधार कार्यसूची तथा नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कात्तिक १० गते जारी गरेको सूचनाअनुसार नागरिकताको प्रमाणपत्र आगलागी, बाढी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा प्रतिलिपिका लागि आवेदन दिन सकिनेछ। अन्य कारणले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थामा पनि तोकिएको प्रक्रियाअनुसार सेवा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

गृह मन्त्रालयको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ को प्रतिबद्धता र नागरिकता नियमावली, २०८३ बमोजिम सेवा प्रवाह सहज बनाउन यस्तो व्यवस्था गरिएको हो। मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकको हकमा सेवाग्राहीको चाप बढ्न सक्ने भएकाले तीन जिल्ला प्रशासन कार्यालयमार्फत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

कुन कार्यालयबाट कुन प्रदेशका नागरिकले सेवा पाउँछन्?

सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपिसम्बन्धी सेवा लिन सक्नेछन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुर वा त्यसअन्तर्गतका कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले सेवा पाउनेछन्। जिल्ला प्रशासन कार्यालय भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट भने कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

अभिलेख रुजु भएपछि मात्र प्रतिलिपि जारी

नागरिकताको प्रतिलिपिका लागि आवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकको हकमा नागरिकता प्रमाणपत्रबाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा भएको विवरणसँग भिडाइनेछ। विवरण मिलेको अवस्थामा नागरिकताको प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।

तर नागरिकताको अभिलेख नभेटिएमा वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन खोजिएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्न अनुरोध गरिएको छ।

त्यस्तै, पहिलो दृष्टिमै नागरिकताको विवरण शङ्कास्पद देखिएमा सम्बन्धित जिल्लाबाट नागरिकता प्राप्त गरेका सेवाग्राहीले प्रतिलिपिका लागि सोही जिल्लामा सम्पर्क गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाले नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला पुग्नुपर्ने बाध्यता कम गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्य राखेको देखिन्छ।

अन्य_जिल्लाको_नेपाली_नागरिकताको_प्रतिलिपि_सम्बन्धी_सूचना.jpg

— नेपालसेज | प्रकाशित: ११ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images