२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

पाउद्धारमा पहिरोको जोखिम

म्याग्दीको पाउद्धारमा पहिरोको उच्च जोखिममा

मनसुनजन्य विपद्बाट प्रभावित अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा १०० मिटरभन्दा लामा करिब ३० पहिरोको अध्ययन

शुक्रवार , कार्तिक १३, २०८३

नेपालेज/म्याग्दी — यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धारमा पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएको परामर्शदाता संस्था ‘People in Need’ का भूगर्भविद्सहितको टोलीले पाउद्धार र आसपासका बस्तीमा पहिरोको अवस्था तथा जोखिमबारे अध्ययन गरेको हो। अध्ययनको मुख्य उद्देश्य पाउद्धारमा बस्ती बसाउन उपयुक्त छ वा छैन भन्ने विषयमा सुझाव दिनु रहेको छ।

सम्पादकीय सारांश

Verified

म्याग्दीको पाउद्धार र आसपासका बस्तीमा प्रारम्भिक भौगर्भिक अध्ययन।

१०० मिटरभन्दा बढी लम्बाइका करिब ३० पहिरोको निरीक्षण।

प्रारम्भिक अध्ययनअनुसार पाउद्धारका १५ घर उच्च जोखिममा।

असोज ११ गते गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो।

बस्ती पुनर्निर्माणबारे भूगर्भविद्को सुझाव र विस्तृत प्रतिवेदनका आधारमा निर्णय गरिने।

पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाका वडा नं. ५ र ६ मा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख र हल्लेखर्कका पहिरोको पनि अध्ययन गरिएको छ। भूगर्भविद् लेखप्रसाद भट्टका अनुसार स्थलगत निरीक्षण, प्रभावित स्थानीयसँग छलफल, नमुना सङ्कलन र ड्रोनको सहायताबाट पहिरोको अवस्था विश्लेषण गरिएको हो।

अन्नपूर्ण गाउँपालिकाको माग तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसका आधारमा प्राधिकरणले अध्ययन टोली खटाएको भट्टले बताए। गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, वडा नं. ५ का अध्यक्ष राजेश तिलिजा पुन, गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख र भूगर्भविद्सहितको टोलीले १०० मिटरभन्दा बढी लम्बाइका करिब ३० वटा पहिरोको अध्ययन गरेको छ।

प्रारम्भिक अध्ययनका क्रममा पाउद्धार गाउँमाथिको पहिरो, जमिनमा देखिएका ठूला चिरा र ढल्किएका रुखका कारण थप जोखिम देखिएको भूगर्भविद् भट्टले बताए। उनका अनुसार प्रारम्भिक रूपमा १५ घर उच्च जोखिममा छन्। गाउँमाथि रहेका पहिरो तथा अन्य जोखिमका आधारमा बस्ती सुरक्षित छ वा छैन भन्नेबारे सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाइनेछ।

गत असोज ११ गते अन्नपूर्ण गाउँपालिका–५ को गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो। उक्त घटनामा २८ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको वडाध्यक्ष राजेश तिलिजाले बताए। दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ भने आसपासका अन्य बस्तीसमेत पहिरोको जोखिममा छन्।

पहिरोका कारण पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ। स्थानीयवासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन् भने अस्थायी रूपमा विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ। खानेपानी प्रणाली मर्मतका लागि पनि श्रमदान अभियान चलाइएको छ।

असोज ११ गते हेलिकप्टरबाट उद्धार गरी अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा लगिएका ११५ जना पाउद्धारवासी पछिल्लो समय आफन्त, छिमेकीका खाली घर तथा सुरक्षित स्थानमा बनाइएका अस्थायी टहरामा बस्न थालेका छन्। शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन्।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भूगर्भविद्को सुझाव र अध्ययन प्रतिवेदनका आधारमा पुनर्निर्माणको काम अघि बढाइने बताए। गाउँपालिकाका अन्य स्थानमा रहेका पहिरोको समेत भौगर्भिक अध्ययन गराउन पहल भइरहेको उहाँले जानकारी दिए ।

— नेपालसेज | प्रकाशित: १३ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images