२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

मुस्ताङको स्याउ बिक्रीमा समस्या

मुस्ताङको स्याउ बजारमा थुप्रियो, सडक अवरोधले किसान र व्यापारीलाई मार

यस वर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण

मंगलवार , कार्तिक १०, २०८३

नेपालसेज/ मुस्ताङ।
बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको स्याउ समयमै बजारमा पुर्‍याउन नसकिएपछि किसान र व्यापारी समस्यामा परेका छन्। स्याउ बिक्रीको मुख्य सिजनमा सडक अवरुद्ध हुँदा जिल्लामै रोकिएको उत्पादन दसैँको अन्तिम समयमा सडक सञ्चालन भएपछि एकैपटक बजारमा पुगेको थियो। यसले गर्दा पोखरा, काठमाडौँलगायत सहरका फलफूल गोदाम र मन्डीमा स्याउ थुप्रिएको छ भने बिक्री अपेक्षाअनुसार हुन सकेको छैन।

सम्पादकीय सारांश

Verified

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री प्रभावित भएको छ।

एक करोड रुपैयाँभन्दा बढीको स्याउ किनेका व्यापारीले आधा मात्रै बिक्री गर्न सकेका छन्।

बजारमा खपत नहुँदा पाकेको स्याउ बोटबाटै झर्न थालेको छ।

हालसम्म करिब ५० प्रतिशत स्याउ मात्रै सहरमा निकासी भएको छ।

यस वर्ष १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ।

मुस्ताङमा स्याउको व्यापार गर्दै आएका धादिङको खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङले यस वर्ष स्याउ बिक्री नहुँदा लगानी डुब्ने चिन्ता बढेको बताएका छन्। उनले मुस्ताङबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ खरिद गरेको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको जानकारी दिएका छन्।

“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनावमा परेको छु,” तामाङले भने, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन।” एकैपटक ठूलो परिमाणमा स्याउ बजारमा पुग्दा गोदाम र मन्डी भरिएकाले खपतमा समस्या भएको उनको भनाइ छ।

स्याउ बोटमै झर्न थालेपछि किसान चिन्तित

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउन भएको ढिलाइले बिक्री र मूल्य दुवै प्रभावित भएको छ। विगतका वर्षमा असोजअघि नै अधिकांश स्याउ बिक्री भइसक्ने गरेकामा यसपालि सडक अवरोधका कारण बजार व्यवस्थापनमा समस्या आएको हो।

७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङका अनुसार दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ। उनका अनुसार बगैँचामा अझै ४० प्रतिशत स्याउ टिप्न बाँकी छ। बजारमा खपत नहुँदा पाकेको स्याउ बोटबाटै झरेर नष्ट हुन थालेको छ। उनले करिब ४०० मेट्रिकटन स्याउ कोल्ड स्टोरमा राखेको जानकारी दिएका छन्।

गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यस वर्ष खपतको मुख्य सिजन सकिन लाग्दा किसानको चिन्ता बढेको गुरुङले बताए। स्याउ बिक्रीमा ढिलाइ हुँदा उत्पादनको उचित मूल्य प्राप्त गर्न कठिन भएको उनको भनाइ छ।

आधा स्याउ मात्रै सहरमा निकासी

यस वर्ष छिटो पाक्ने स्याउ भदौ १२ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो। सोही निर्णयअनुसार हरितालिका तीजका अवसरमा करिब २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार हालसम्म करिब ५० प्रतिशत स्याउ पोखरा, काठमाडौँलगायत सहरमा निकासी भएको छ। कार्यालय प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउको बजारीकरणमा समस्या परेको बताएका छन्।

यस वर्ष जिल्लामा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ। तर बगैँचामा अझै करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी रहेकाले समयमै बजार व्यवस्थापन हुन नसके थप उत्पादन खेर जाने जोखिम रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images