२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

फेसबुकमा शव व्यवस्थापनबारे सुझाव दिएको भोलिपल्टै निरौलालाई रसुवा पठाइयो

भोटेकोशी बाढीपछि बेपत्ता तथा मृतकको खोजी, उद्धार, राहत र शव व्यवस्थापनको जिम्मेवारीसहित कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवा खटाइएको छ।

आइतवार , भाद्र १४, २०८३

NepalSays/ विराटनगर — बाढी तथा विपद्का क्रममा भेटिएका शवको व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवा काजमा खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्ने गरी खटाइएको हो। उनलाई बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ। गृह प्रशासन तथा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव भएका कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनलाई रसुवा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई काजमा खटाइएको हो। रसुवामा रहँदा उनले जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नेछन्। निरौलाको तलब, भत्ता तथा अन्य सेवा सुविधा भने कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ। अर्को व्यवस्था नभएसम्म उनले हाल पाउँदै आएको पारिश्रमिक तथा सुविधा कोशी प्रदेशबाटै प्राप्त गर्नेछन्।

सम्पादकीय सारांश

Verified

शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका निरौला रसुवा काजमा खटिएका छन्।

उनलाई टिमुरे क्षेत्र केन्द्रित भएर खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनमा काम गर्ने जिम्मेवारी दिइएको छ।

निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार रसुवा पठाइएको हो।

उनले पहिचान नखुलेका शव तत्काल गाड्नुभन्दा आफन्तको खोजी र पहिचानलाई प्राथमिकता दिन सुझाव दिएका थिए।

फेसबुकमा सुझाव दिएको भोलिपल्टै काजमा खटाइएपछि प्रशासनिक वृत्तमा निर्णयलाई चासोका साथ हेरिएको छ।

निरौलालाई रसुवा पठाउने निर्णय उनको सामाजिक सञ्जालमा सार्वजनिक भएको शव व्यवस्थापनसम्बन्धी सुझावसँग जोडिएको देखिएको छ। उनले शनिबार फेसबुकमार्फत चितवनमा पहिचान नखुलेका शवलाई खाल्डो खनेर गाड्ने प्रक्रिया अघि बढाइएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै शव व्यवस्थापनमा संवेदनशीलता अपनाउन आग्रह गरेका थिए। उनको उक्त फेसबुक स्टाटस अहिले भने हटाइएको छ।

उनले विपद्का बेला भेटिएका शव तत्काल सामूहिक रूपमा गाड्नुभन्दा मृतकको पहिचान र आफन्तको खोजीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्त अझै आफ्ना परिवारका सदस्यको ‘सास वा लास’ खोजिरहेको अवस्थामा पहिचान नखुलेका शव हतारमा गाड्दा आफन्तले आफ्नो सदस्य हो वा होइन भनेर पहिचान गर्ने अवसरसमेत गुमाउन सक्ने उनको तर्क थियो।

निरौलाले मृतक तथा परिवारको धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। नेपालीसँगै विदेशी नागरिकसमेत बाढीमा बेपत्ता वा मृत्यु भएको हुन सक्ने भएकाले उनीहरूका आफन्त घटनास्थलसम्म खोजी गर्दै आउन सक्ने भन्दै शव व्यवस्थापनमा थप संवेदनशीलता आवश्यक रहेको उनको भनाइ थियो।

लामो समय शव राख्दा स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने भएकाले आवश्यक प्लास्टिक तथा ठूला फ्रिजको व्यवस्था गरी केही समय शव सुरक्षित राख्न सकिने सुझाव पनि उनले दिएका थिए। उनले आफ्नो सुझावलाई मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना महामारीका क्रममा शव व्यवस्थापनमा प्राप्त अनुभवसँग जोडेका थिए। परिवारले दागबत्ती दिन तथा कम्तीमा परबाट फूलमाला चढाउन पाउनुपर्ने माग गरेपछि सुरक्षा निकायसँग समन्वय गरेर शव व्यवस्थापनको प्रक्रिया परिवर्तन गरिएको अनुभव उनले सार्वजनिक गरेका थिए।

भोटेकोशीमा आएको बाढीपछि रसुवादेखि गण्डक ब्यारेजसम्म ठूलो संख्यामा मानिस बेपत्ता भएकाले आफन्तहरू निरन्तर खोजीमा छन्। यस्तो अवस्थामा पहिचान नखुलेका शवको व्यवस्थापनमा हतार गर्न नहुने भन्दै निरौलाले प्रश्न उठाएका थिए। फेसबुकमा सुझाव सार्वजनिक गरेको भोलिपल्टै उनलाई शव व्यवस्थापनकै जिम्मेवारीसहित रसुवा काजमा खटाइएपछि प्रशासनिक क्षेत्रमा उक्त निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब उनले सामाजिक सञ्जालमार्फत दिएका सुझावलाई बाढी प्रभावित क्षेत्रमा आफैँ कार्यान्वयन गर्ने जिम्मेवारीसमेत पाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images