कञ्चनपुर, असार ३२ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० फगिरे चौराहाकी ४२ वर्षीया पारु सुनार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। घटनापछि प्रहरीले उनका श्रीमान् ४५ वर्षीय रनबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार बुधबार राति श्रीमान्–श्रीमतीले घरमै मदिरा सेवन गरेका थिए। त्यसक्रममा सामान्य विवाद चर्किँदा लाठी प्रहारबाट पारु घाइते भएकी थिइन्।
घटनापछि दुवैलाई उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। चिकित्सकले थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाउन सिफारिस गरे पनि परिवारका सदस्यले दुवैलाई राति नै घर फर्काएका थिए।
इलाका प्रहरी कार्यालय दोधाराका अनुसार बिहीबार बिहान करिब ८ः५० बजे पारु घरमै मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउको र शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ। साथै, इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक जगतसाह मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले श्रीमान् रनबहादुर सुनारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस