२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

मङ्सिरदेखि कमला पुल सञ्चालन

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकका अवैध संरचना हटाइँदै

धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेपछि हुलाकी राजमार्गको सडक सीमाभित्र रहेका घर, टहरा र घुम्ती पसल हटाउन थालिएको छ।

बिहिवार , कार्तिक १९, २०८३

नेपालसेज/ जनकपुरधाम।
तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ। धनुषा र सिरहालाई जोड्ने कमला पुल आगामी मङ्सिरदेखि सञ्चालन गर्ने तयारी भइरहेका बेला सडक सीमाभित्रका घर, टहरा तथा घुम्ती पसल हटाउने काम अघि बढाइएको हो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि आफैँ हटाउन थालेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताएका छन्। उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण सडक निर्माण तथा विस्तारको काम प्रभावित भइरहेको छ। केही स्थानमा सडकसीमा खाली हुन नसक्दा निर्माणकार्यसमेत सुरु हुन सकेको छैन। आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यस्ता संरचना हटाइने उनले बताएका छन्।

सम्पादकीय सारांश

Verified

धनुषा र सिरहालाई जोड्ने कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ।

पुल सञ्चालनको तयारीसँगै हुलाकी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ।

पुलको सुपर स्ट्रक्चर ढलान र पिलर सवलीकरणको काम अन्तिम चरणमा पुगेको छ।

सिरहादेखि सर्लाहीसम्मको ४०६.४३ किलोमिटर हुलाकी सडकमध्ये ३४७.६३ किलोमिटर कालोपत्र भएको छ।

आर्थिक वर्ष २०८२/८३ भित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि जग्गा विवाद र संरचना हटाउन भएको ढिलाइले काम प्रभावित छ।

उक्त सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुल सञ्चालनमा आएपछि सवारीसाधनको चाप बढ्ने भएकाले सडक सीमाभित्रका संरचना हटाउन थालिएको महतोले बताएका छन्। मङ्सिरको पहिलो साता प्रधानमन्त्री वालेन्द्र साहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत भइरहेको उनले जानकारी दिएका छन्। विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो। विसं २०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन। पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो।

पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माणले गति लिएको कार्यालय प्रमुख महतोले बताएका छन्। उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सवलीकरण तथा सुपर स्ट्रक्चरको स्ल्याब ढलान कार्य अन्तिम चरणमा पुगेको छ। दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६.४३ किलोमिटरमध्ये हालसम्म ३४७.६३ किलोमिटर सडक कालोपत्र भएको छ। उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७.५२ किलोमिटर सडकमध्ये २९.९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७.४६ किलोमिटर निर्माणाधीन अवस्थामा छ। धनुषामा कुल ८९.५२ किलोमिटरमध्ये ७४.५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४.९४ किलोमिटर निर्माणाधीन छ। त्यस्तै, महोत्तरीमा कुल ९३.५ किलोमिटरमध्ये ९१.५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १.९४ किलोमिटर निर्माण हुन बाँकी छ। सर्लाहीमा कुल १६६.२ किलोमिटरमध्ये १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४.५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको रायले जानकारी दिएका छन्।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताएका छन्। बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ। हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले बताएका छन्। सडक निर्माणले गाउँ र बजारबीचको दूरी घटाउनुका साथै कृषिउपजको बजारीकरण, व्यापार व्यवसाय र जग्गाको मूल्यमा वृद्धि भएको उनीहरूको अनुभव छ।

सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताका अनुसार हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले जिल्लाका आधा दर्जन स्थानीय तहको विकासमा योगदान पुर्‍याएको छ। सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीलाई आवागमन तथा दैनिक कामकाजमा सहज भएको उनले बताएका छन्। धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले हुलाकी राजमार्ग निर्माणसँगै आसपासका क्षेत्रमा जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको बताएका छन्। उनका अनुसार सडक निर्माणअघि प्रतिकठ्ठा २० लाख रुपैयाँमा मुस्किलले बिक्री हुने जग्गा अहिले ६० देखि ७० लाख रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

धनुषाको विदेह नगरपालिकाका व्यापारी अशोक साहका अनुसार पहिले सडक जीर्ण हुँदा गाउँबाट बजारसम्म आउन स्थानीयवासीलाई कठिनाइ हुने गरेको थियो। अहिले आवागमन सहज भएपछि गाउँका उपभोक्ता बजारसम्म पुगेर किनमेल गर्न थालेका छन्। सडक निर्माणपछि स्थानीयस्तरमा व्यापार व्यवसायसमेत बढेको उनको अनुभव छ। हुलाकी सडक निर्माणले ग्रामीण बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै कृषि, पर्यटन, व्यापार तथा उद्योग व्यवसायको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने र मधेस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

नेपालले गरेको रेखाङ्कनअनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको हुलाकी राजमार्गको कुल लम्बाइ १ हजार ७९२ किलोमिटर छ। मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेसँगै विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र क्रमशः यातायात सञ्जालमा जोडिँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images