सभापति गगन थापाले कांग्रेसले आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट गर्दै पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्नुपर्ने बताएका छन्।
नेपालसेज/काठमाडौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले आफ्नो राजनीतिक दृष्टिकोण र अडान स्पष्ट बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेस कुनै पक्षतिर अस्थिर ढंगले ढल्किने ‘लालुपाते’ बन्न नहुने बताएका हुन्। उनले महाधिवेशनबाट कांग्रेसले आगामी दिनको राजनीतिक बाटो स्पष्ट रूपमा तय गर्नुपर्ने बताए। निर्वाचनमा तत्कालको परिणामलाई मात्र हेरेर पार्टीको सिद्धान्त र पहिचान परिवर्तन गर्न नहुने उनको भनाइ थियो। कांग्रेसले आवश्यक परे लगातार निर्वाचन हार्नुपरे पनि आफ्नो राजनीतिक अडानमा दृढ रहनुपर्ने उनले बताए। पार्टीको पहिचान र राजनीतिक आत्मालाई बलियो बनाएर नागरिकसँगको विश्वास पुनः स्थापित गर्नुपर्ने थापाले जोड दिए।
गगन थापाले कांग्रेस यता–उता ढल्किने ‘लालुपाते’ बन्न नहुने बताए।
उनले पार्टीले आफ्नो राजनीतिक दृष्टिकोण र अडान स्पष्ट बनाउनुपर्नेमा जोड दिए।
सरकार बलियो भए पनि नागरिक सरकारभन्दा बलियो हुनुपर्ने उनको धारणा छ।
कांग्रेसले लोकतन्त्र र सेवा प्रवाहबीच पुलको काम गर्नुपर्ने थापाले बताए।
उनले कांग्रेसको मुख्य संकट निर्वाचन नभई पहिचानको संकट भएको बताए।
‘हामी यता पनि ढल्कने र उता पनि ढल्कने लालुपाते बन्नु हुँदैन,’ थापाले भने। उनले कांग्रेसले एउटा मात्र नभई पाँचवटासम्म निर्वाचन हारे पनि आफ्नो राजनीतिक अडानबाट विचलित नहुने संकल्प गर्नुपर्ने बताए। उनका अनुसार निर्वाचनमा हार–जित राजनीतिक यात्राको एउटा हिस्सा भए पनि पार्टीको विचार र पहिचान गुमाउनु ठूलो संकट हो।थापाले सरकार बलियो हुनुपर्ने तर सरकारभन्दा नागरिक अझ बलियो हुनुपर्ने बताए। लोकतन्त्रलाई नागरिकको जीवनसँग जोड्न नसकिए त्यसको अर्थ कमजोर हुने भन्दै उनले कांग्रेसले लोकतन्त्र र सेवा प्रवाहबीच पुलको काम गर्नुपर्ने धारणा राखे। ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने।
पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्नु कांग्रेसको महत्वपूर्ण जिम्मेवारी भएको थापाले बताए। स्वतन्त्रता र समृद्धिका लागि काम गर्दै नयाँ पुस्ताको आकांक्षालाई राजनीतिक मूलधारसँग जोड्नुपर्ने उनको भनाइ थियो। कांग्रेसले यही संकल्पसहित महाधिवेशनबाट नयाँ यात्राको सुरुवात गर्ने उनले बताए।कांग्रेस र नागरिकबीचको विश्वासको सम्बन्ध कमजोर भए त्यसको असर गम्भीर हुने थापाले बताए। सामाजिक सञ्जालमा नेताले पाउने लाइक र प्रतिक्रियालाई मात्र जनविश्वासको मापदण्ड बनाउन नहुने भन्दै उनले नागरिकले सुरक्षित र ढुक्क भएर जीवन बिताउन सक्ने वातावरण निर्माण गर्नु नै वास्तविक विश्वास भएको बताए। ‘पुल भत्कियो भने विश्वास भत्किन्छ,’ उनले भने।
थापाले कांग्रेसको मुख्य संकट निर्वाचन नभई पहिचानको संकट भएको बताए। निर्वाचन आउँदै–जाँदै गरे पनि पार्टीको राजनीतिक आत्मा र विचारलाई जोगाउनुपर्ने उनको भनाइ थियो। कांग्रेसको राजनीतिक आत्मा बीपी कोइराला र गणेशमान सिंहको विचारमा रहेको उल्लेख गर्दै थापाले नयाँ पुस्तालाई त्यही राजनीतिक विरासतसँग जोडेर अघि बढाउने संकल्प व्यक्त गरे।
— नेपालसेज | प्रकाशित: १८-०६-२०८३ / 4 October 2026
प्रतिक्रिया दिनुहोस