क्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल (SAWEN) को पहिलो महासभामा बोल्दै मन्त्री खनालले भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’ को संज्ञा दिएका छन्।
NepalSays/ काठमाडौं
दक्षिण एसियाली क्षेत्रमा वन्यजन्तु तथा जैविक विविधताको संरक्षण र सीमापार हुने वन्यजन्तु अपराध रोक्नका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा परराष्ट्रमन्त्री शिशिर खनालले विशेष जोड दिनुभएको छ। काठमाडौंमा आयोजित ‘दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल’ (SAWEN) को पहिलो महासभाको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। मन्त्री खनालले सीमापार हुने यस्ता अवैध गतिविधि रोक्न सूचना आदानप्रदान र प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सीमापार वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित देशका निकायहरूबीच सूचना आदानप्रदान र बलियो समन्वय आवश्यक रहेको।
वन्यजन्तुको अवैध व्यापार अन्तर्राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती बनेकाले बहुपक्षीय निकायहरू एकजुट हुनुपर्ने।
हिमालय, नदी प्रणाली र वनजङ्गल साझा प्राकृतिक सम्पदा भएकाले यिनको संरक्षण सामूहिक प्रयासबाट मात्र सम्भव हुने।
काठमाडौंमा सञ्जाल (SAWEN) को सचिवालय आतिथ्य गर्न पाउनु नेपालका लागि गौरवको विषय रहेको भनाइ।
भोटेकोशीको भयावह विपद्प्रति दुःख व्यक्त गर्दै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली र सहयोगी राष्ट्रहरूप्रति आभार प्रकट।
वन्यजन्तुको अवैध व्यापार हाल अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत ठूलो चुनौतीका रूपमा देखा परेको उहाँको भनाइ थियो। यस प्रकारका सङ्गठित अपराध नियन्त्रण गर्नका लागि संरक्षण निकाय, प्रहरी, भन्सार, अनुसन्धानकर्ता र न्यायिक संस्थाबीच अन्तर-निकाय सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो। दक्षिण एसियाका साझा प्राकृतिक सम्पदाहरूको सुरक्षाका लागि सबै सदस्य राष्ट्रहरूको सामूहिक प्रतिबद्धता आवश्यक रहेको धारणा उहाँले व्यक्त गर्नुभयो।
नेपालले क्षेत्रीय सहकार्यलाई सधैँ प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै मन्त्री खनालले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यावहारिक उपलब्धिमा आधारित बहुपक्षीय साझेदारी नै दीर्घकालीन रूपमा प्रभावकारी हुने स्पष्ट पार्नुभयो। दक्षिण एसियाका हिमशृङ्खला, नदी प्रणाली, वन तथा सिमसार क्षेत्र साझा भएकाले तिनको संरक्षणमा सबैको उत्तिकै भूमिका रहने उहाँले बताउनुभयो। साथै काठमाडौंमा यस सञ्जालको सचिवालय स्थापना हुनु नेपालका लागि गौरवको विषय भएको उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा मन्त्री खनालले वातावरणीय अखण्डता, जैविक विविधता र सङ्गठित अपराध नियन्त्रणका विषयहरू आधुनिक कूटनीतिसँग प्रत्यक्ष रूपमा जोडिँदै गएको विचार व्यक्त गर्नुभयो। जैविक विविधता जोगाउनका लागि बलियो कानुनी संरचना, राजनीतिक इच्छाशक्ति, र स्थानीय समुदायको सक्रिय सहभागिता हुनुपर्ने उहाँको जोड थियो। पहिलो महासभाले सञ्जालको संस्थागत विकासमा नयाँ अध्याय थपेको र सदस्य राष्ट्रहरूबीचको मित्रता तथा विश्वासलाई अझ प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्त्री खनालले हालै भोटेकोशीमा आएको विनाशकारी विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो घटनालाई ‘हिमालयन सुनामी’ को संज्ञा दिनुभयो। उक्त विपद्को भयावहता सामान्य बाढीभन्दा निकै ठूलो रहेको बताउँदै उहाँले मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, कटिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता जनाउने तथा सहयोगको हात बढाउने अन्तर्राष्ट्रिय साझेदार एवं मित्रराष्ट्रहरूप्रति उहाँले हार्दिक आभार प्रकट गर्नुभयो।
प्रतिक्रिया दिनुहोस