२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा भाषा प्रशिक्षण कार्यक्रम सुरु, मन्त्री खनालले भने– ‘कूटनीतिको मूल आधार नै संवाद’

सोमवार , श्रावण १८, २०८३

NepalSays | काठमाडौं

सम्पादकीय सारांश

Verified

परराष्ट्र सेवाका अधिकृतका लागि चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण कार्यक्रम सुरु।

परराष्ट्रमन्त्री शिशिर खनालले भाषा दक्षताले नेपालको कथा विश्वसम्म पुर्‍याउन सहयोग गर्ने बताए।

प्रशिक्षण परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को नेतृत्वमा सञ्चालन हुनेछ।

चिनियाँ र फ्रान्सेली भाषा प्रशिक्षण सम्बन्धित संस्थाको सहकार्यमा तथा अरबी भाषा प्रशिक्षण दुई साताभित्र सुरु हुने।

विदेशी भाषा सिकाइलाई नेपालको कूटनीतिक प्रशिक्षण प्रणालीमा क्रमशः एकीकृत गर्ने लक्ष्य।

नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले कूटनीतिक भाषा प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत चिनियाँ, फ्रान्सेली तथा अरबी भाषा प्रशिक्षणको शुभारम्भ गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिको मूल आधार नै संवाद भएको उल्लेख गर्दै नयाँ भाषा सिकाइले विश्वदृष्टिलाई फराकिलो बनाउने बताउनुभयो। उहाँले भाषिक दक्षताले नयाँ समुदायसँग सम्बन्ध विस्तार गर्न, विचारको प्रत्यक्ष आदान–प्रदान गर्न तथा नेपालको पहिचान र कथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

आईएफएकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले भाषा र सांस्कृतिक समझदारीले विश्वास निर्माण, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा नेपालको ‘सफ्ट पावर’ र सार्वजनिक कूटनीति प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो। उहाँले कार्यक्रमको सफल कार्यान्वयनका लागि सहभागी अधिकृतहरूको अनुशासन, निरन्तर प्रतिबद्धता तथा परराष्ट्र मन्त्रालयको संस्थागत सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र फ्रान्सेली राजदूतावासकी कार्यवाहक राजदूत एल्जा क्यालेले क्रमशः चिनियाँ र फ्रान्सेली भाषा सिकाइको महत्त्व तथा नेपालसँगको द्विपक्षीय सम्बन्धका विषयमा धारणा राख्नुभएको थियो। साथै, त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा. बलराम दुवाल र अलायन्स फ्रान्सेज द काठमाडौँकी पाठ्यक्रम निर्देशक आन–लोर पोटिएले भाषा प्रशिक्षणको संरचना र सिकाइका उद्देश्यबारे जानकारी गराउनुभएको थियो।

आईएफएका अनुसार चिनियाँ भाषा प्रशिक्षण कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा तथा फ्रान्सेली भाषा प्रशिक्षण अलायन्स फ्रान्सेज द काठमाडौँको सहयोगमा सञ्चालन हुनेछ। अरबी भाषा प्रशिक्षणसमेत आगामी दुई साताभित्र सुरु गरिनेछ। चिनियाँ भाषा कक्षा प्रत्येक साता तीन दिन तथा फ्रान्सेली र अरबी भाषा कक्षा प्रत्येक साता दुई–दुई दिन सञ्चालन हुनेछन्। प्रतिष्ठानले विदेशी भाषा शिक्षालाई नेपालको कूटनीतिक प्रशिक्षण प्रणालीमा क्रमशः एकीकृत गर्दै परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images