दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला गरिने भएको छ।
नेपालसेज/ काठमाडौँ
नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार भएको उच्चस्तरीय बैठकले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।
दशैं, तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुल्ने भएको छ।
यस वर्ष दशैंमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।
लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ।
टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।
बढी भाडा, कालोबजारी र टिकटमा अनियमितता गर्नेमाथि कडा कारबाही गरिने भएको छ।
विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिबीच भएको छलफलपछि यस्तो सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिएका छन्।
यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा र केही यातायात कम्पनीले मात्र अनलाइन बुकिङ सञ्चालन गरिरहँदा यात्रुमा देखिएको अन्योल २३ असोजदेखि बुकिङ खुलेसँगै हट्ने अपेक्षा गरिएको छ।
बैठकले यात्रुको सुरक्षा, सुविधा तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ। लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने तथा टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्ने व्यक्ति तथा संस्थामाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ।
सुरक्षित यात्रा तथा राजमार्गमा हुने अवरोध वा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णयसमेत भएको छ। सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न सुरक्षा निकायको प्रभावकारी परिचालनमा समेत बैठकले जोड दिएको छ। टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच समन्वय गर्ने सहमति भएको छ।
दशैं, तिहार तथा छठका समयमा यात्रुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सबै पक्षबीच निरन्तर समन्वय गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस